रामेछाप जिल्लाको लुखु तामाकोसी गाउँपालिकाका बासिन्दाहरू स्वास्थ्य संस्थाबाट प्रदान गरिने निःशुल्क औषधि पाउने सेवाबाट समेत बञ्चित भएका छन् । सो गाउँपालिकाले स्वास्थ्य संस्थाहरूको लागि आवश्यक औषधि खरिद नगर्दा सर्वसाधारणहरू सेवाबाट वञ्चित भएका हुन् ।
सो गाउँपालिकाले यस आर्थिक वर्षमा खरिद गर्नु पर्ने औषधि हालसम्म खरिद नगरेको कारण गाउँपालिका भरिकै स्वास्थ्यसंस्थाहरूमा निःशुल्क उपलब्ध हुनुपर्ने औषधिको अवभा भएको गाउँपालिकाको स्वास्थ्य शाखाकी सहइञ्चार्ज कमला खड्ले बताउनुभयो । साउन महिनामा नै खरिद गर्नु पर्ने औषधि आर्थिक वर्षको ६ महिना बित्दा पनि खरिद हुननसक्दा पालिकाका सबै स्वास्थ्य संस्थाहरूमा औषधि सकिएको उहाँले बताउनुभयो ।
स्वास्थ्य चौकीहरूले ३९ थरिका औषधिहरू निःशुल्क उपलब्ध गराउनु पर्ने व्यवस्था रहेको छ । नेपालको संविधानले स्वास्थ्य सेवाको अधिकारलाई मौलिक अधिकारको रुपमा व्यवस्था गरेको छ ।
गाउँपालिका आन्तरिक विवादमा फस्दा सो गाउँपालिकाको यस वर्षको बजेट तथा कार्यक्रम नै आएको छैन । जसले गर्दा पालिकाले औषधि खरिद गर्न सकेको छैन । अहिले विरामी भएर स्वास्थ्य संस्थामा जाँदा सिटामोल समेत नपाउने अवस्था आएको लिखु तामाकोसी गाउँपालिका–३ का मक्करबहादुर खड्काले बताउनुभयो ।
पालिकाको आन्तरिक बिवादको कारण स्वास्थ्य, शिक्षा, पुर्वाधार निर्माण लगायतका सबै काम प्रभावित भएको उहाँले बताउनु भयो । चिकित्सक समेतको दरवन्दि रहेको प्राथमिक स्वास्थ्य केन्द्र खिम्तिमा समेत विरामीहरूले सामान्य औषधि पनि पाउन छाडेको लिखु तामाकोसी–६ खिम्तिका यादवप्रसाद दाहाल बताउनु हुन्छ ।
गाउँपालिका उपाध्यक्ष दीपशिखा दाहालले पनि स्वास्थ्य संस्थामा औषधिको अवभाव भएको स्विकार्नु भयो । गाउँपालिकाको बजेट र कार्यक्रम अउन नसकेको कारण औषधि खरिद गर्न नपाएकोले स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव भएको उहाँले बताउनु भयो । पालिकाको बजेट कार्यक्रम कहिलो आउने भन्ने कुरानै अन्यौल भएकोले औषधि कहिलेसम्म खरिद गर्न सकिन्छ केही बताउन नसकिने उहाँले बताउनु भयो । यो गाउँपालिकामा एक प्राथमिक स्वास्थ्य केन्द्र सहित ७ वटा स्वास्थ्य संस्थाहरू रहेका छन् ।