मकवानपुरको हेटौंडा उपमहानगरपालिकाकी उपप्रमुख मिना लामाले संबिधान प्रदत्त मौलिक हक सुनिश्चितताको लागि स्थानीय तहलाई अधिकार आवश्यक भएको बताउनुभएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) बागमती प्रदेश कार्यालयको आयोजनामा भएको परियोजना परिचयात्मक तथा मानव अधिकार समूह गठन कार्यक्रममा बोल्दै उपप्रमुख लामाले यस्तो बताउनुभएको हो । अधिकार नहुँदा उपमहानगरपालिकामा सुकुम्बासीको समस्या चुनौती भएको उहाँले गुनासो गर्नुभयो ।

उपमेयर लामाले जनताको शिक्षा स्वास्थ र खाद्य अधिकारका बिषय उपमहानगरपालिकाको प्राथमिकतामा रहेको बताउनुभयो । स्वास्थ क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले भौतिक पूर्वाधारमा विशेष जोड दिएको बताउनुभयो । “वडा तहमा स्वास्थ चौकी स्थापनालाई हामीले प्राथमिकतामा राखेका छौं” उहाँले भन्नुभयो ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–४ का अध्यक्ष नविन सिग्देलले हालैमात्र आफ्नो वडामा स्वास्थ चौकीको स्थापना भएको बताउनुभयो । “स्वास्थ्य चौकी स्थापन भएको छ, स्वास्थ्यकर्मीको अभाव नै छ” वडा अध्यक्ष सिग्देलले भन्नुभयो । जनतालाई घरदैलो मै सेवा दिन स्वास्थ चौकी स्थापना भयो तर स्वास्थकर्मी नहुँदा सेवा दिन समस्या भइरहेको उहाँले बताउनुभयो । यस्तै वडा नम्बर १० का अध्यक्ष किताबसिँ लामाले निजामती कर्मचारीको जस्तै शिक्षकहरूको पनि नियमित सरूवा प्रकृयाको व्यवस्था भए शिक्षामा गुणस्तरीयता आउने आशा व्यक्त गर्नुभयो ।
यस्तै हेउमनपा–११ का कार्यबाहक वडा अध्यक्ष रामचन्द्र न्यौपानेले आफ्नो वडामा सुकुम्बासी समस्या बढ्दै गएको बताउनुभयो । राप्ती तटको बगरमा अहिले सार्बजनिक जग्गा अतिक्रमण गर्दै झण्डै दुइहजार परिवार सुकुम्बासी भनी बस्दै आएको र उनीहरूको उचित व्यवस्थापनमा समस्या भएको न्यौपानेले बताउनुभयो । कार्यक्रममा उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख पूर्णबहादुर अछामीले नीतिगत प्रकृयाले गर्दा समस्या आउने गरेको बताउनुभयो । जनप्रतिनिधीहरू व्यवहारिक रूपमा छिटो काम गर्न दबाब दिनुहुन्छ तर नीति र प्रकृयालाई पालना गर्नुपर्ने भएकोले समस्या देखिएको उहाँले बताउनुभयो ।
इन्सेक बागमती प्रदेश संयोजक कृष्ण गौतमले इन्सेकले मकवानपुरको दुइवटा पालिकामा इएलपी परियोजना सञ्चालन गरेको बताउनुभयो । तीनबर्षसम्म सञ्चालन हुने परियोजनामा संबिधानमा उल्लेख भएका शिक्षा स्वास्थ खाद्य र आवासको अधिकार प्राप्तीका लागि स्थानीय जनतालाई सचेत बनाउँदै समबन्धित निकायलाई जवाफदेही बनाउने र पैरवी गर्ने बताउनुभयो । मानव अधिकार प्रत्याभुत गर्न इन्सेकले शिक्षा र चेतना विस्तारको क्षेत्रमा काम गर्ने इन्सेक प्रलेख अधिकृत सरिता दाहालले बताउनुभयो ।
कार्यक्रममा हेउमनपाका विभिन्न वडाका अध्यक्ष तथा प्रतिनिधिहरु,उपभोक्ता हित संरक्षण मञ्चका प्रतिनिधि,अपाङ्ग महासंघको प्रतिनिधि, टोलविकास संस्था नगर समन्वय समिति प्रतिनिधिलगायतको उपस्थिती रहेको थियो ।