भक्तपुरको सुर्यबिनायक नगरपालिकाका उपप्रमुख एवम् न्यायिक समिति संयोजक तीन महिनादेखि कार्यालयमा अनुपस्थित हुँदा नगरपालिकाको न्यायिक समितिका आएका मुद्दाहरू प्रभावित भएको छ ।
संबैधानिक अधिकार अनुसार नगरपालिकामा न्यायिक समितिको संयोजकले समितिमा आएको मुद्दाको आवश्यक कारबाही गर्ने, किनारा लगाएर मुद्दाको टुङ्गो लगाउने वा जिल्ला अदालत पठाउने काम हुनुपर्छ । तर यो नगरपालिकामा न्यायिक समिति संयोजक नहुँदा मुद्दा लिएर न्यायिक समितिमा आएकाहरू दुखमात्रै पाउने गरेको स्थानीय बालकोट नयाँबस्तीका पञ्चराम थापाले बताउनुभयो ।
गत कात्तिकमा न्यायिक समितिको संयोजक एपं उपमेयर जुना बस्नेत अष्ट्रेलिया गएपछि नगरपालिका उपमेयर विहिन छ । तीन महिनादेखिको साधँ सिमानाको मुद्दाको निर्णय नुहँदा निकै समस्या परेको बालकोट नयाँबस्तीका पञ्चराम थापाले बताउनुभयो । “छोरीको दिक्षान्त समारोहमा सहभागि हुन अष्ट्रेलिया पुग्नु भएको रहेछ, तीन महिनादेखि हाम्रो मुद्दा न्यायिक समितिमा अल्झेको छ” थापाले भन्नुभयो ।
सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले उपमेयर नुहँदा काममा कुनै समस्या नआएको दाबी गर्दै ब्यक्तिगत कामले विदामा निजी खर्चमा अष्ट्रेलिया गएको र माघको ११ गतेपछि मात्रै स्वदेश फर्किने जानकारी पाएको बताउनुभयो । न्यायिक समितिको काम सदस्यहरूले हेरिरहेको उहाँले बताउनुभयो ।
न्यायिक समितिका उजुरी प्रशासक सुरज पौडेलका अनुसार चालू आर्थिक वर्ष २०७६/०७७ मा ५२ वटा मुद्दा दर्ता भएका छन् । जसमा २० थान मुद्दा फस्र्यौट भएको, ७ वटा मुद्दा अदालत पठाईएको र ३२ थान मुद्दा फस्र्यौट हुन बाँकी रहेको छ ।
नगरपालिकाको उपमेयर तथा न्यायिक समितिका संयोजक जुना बस्नेत नहुँदा खासै केही नपरेको उहाले बताउनुभयो । समितिका आएका मुद्दा आफूहरूले छलफल गराउने गरिरहेको र मुद्दा टुङ्गिन तीन/चार महिना लाग्नु स्वभाविक भएको न्यायिक समिति सदस्य विनय महतले बताउनुभयो । टुङ्गिएका केही मुद्दाहरू अन्तिम निर्णयमा उपमेयरको हस्ताक्षर चाहिने भएकाले मुद्दाको किनारा लाग्न भने नपाएको उहाँको भनाई छ ।