मकवानपुरको पश्चिमी क्षेत्रमा रहेकाे मनहरी गाउँपालिकाले एकबर्षमा १२ वटा बालविवाह हुनबाट रोकेको छ ।
बालमैत्री स्थानीय शासन निर्माण गरी गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने अन्तिम चरणमा रहेको मनहरी गाउँपालिकाले २०७५ मङ्सिरदेखि ०७६ पुसको २० गतेसम्म १२ वटा बालविवाह रोकेको हो । बाल सञ्जालको सक्रियतामा २०७६ पुस ११ गते मनहरी गाउँपालिका–६ रुपाचुरीमा एउटा बालविवाह हुनबाट रोकेको गाउँपालिकाको बालमैत्री फोकल पर्सन शान्ति अधिकारीले बताउनुभयो । २० बर्षभन्दा कम उमेरमा विवाह गर्न लागेका बालबालिका तथा उनका परीवारलाई परामर्श दिई बालविवाह गर्नबाट रोकेको उहाँले बताउनुभयो ।

कुल ४६ हजार आठसय ५३ जनसङ्ख्या रहेको मनहरीमा १५ हजार सातसय ३९ जना बालबालिका छन् । गाउँपालिकामा २०७० देखि २०७५ सम्मको अवधिमा एकहजार दुइसय १६ जनाले बालविवाह गरेका थिए । गाउँपालिकाको वडा ३, ४ र ६ मा बालविवाहबाट बढि प्रभावित छन् । प्रभावित वडाहरुमा घरदैलो कार्यक्रम गरेर जनचेतना जगाउने र गाउँपालिकामा वडा तहमा बाल क्लब गठन गरी सक्रिय बनाउने काम गरेको उपाध्यक्ष मनिला बिष्टले बताउनुभयो । बालविवाह र बालश्रमको उच्च जोखिम रहेको मनहरीलाई निकृष्ट बालश्रमको अन्त्य र बालविवाह अन्त्य गर्दै बालमैत्री गाउँपालिका घोषणा गर्न लागेको बताउनुभयो ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले मनहरी गाउँपालिकामा शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकारको सवालमा काम गर्दै आएको छ । बाल विवाह र बालश्रम अन्त्य गर्ने गाउँपालिकाको अभियानलाई साथ इन्सेकको बाल अधिकार सचेतना समुहपनि सक्रिय रहेको वडा नम्बर ४ मसिने स्थित पशुपति माविका प्राध्यानाध्यापक भानुभक्त आचार्यले बताउनुभयो ।
अधिकार बालबिवाहको उच्च जोखिममा रहेको मनहरी गाउँपालिकाले डेढ बर्षदेखि विभिन्न कार्यक्रम सञ्चालन गरी गाउँपालिकालाई बालमैत्रि बनाउने अभियान सञ्चालन गरिरहेको छ । गाउँपालिकाले अभियान कै क्रममा एकसय ९४ जना बालबालिकालाई निकृष्ट बालश्रमबाट उद्वार गरेको उपाध्यक्ष बिष्टले बताउनुभयो । मनहरी गाउँपालिका २०७६ पुस २८ गते देशभरको चारसय ६० गाउँपालिका मध्ये पहिलो बालमैत्री स्थानीय शासन लागु भएको गाउँपालिका घोषणा हुँदैछ ।