INSEC Online

📅 २०८३ जेष्ठ २१

जिल्ला अदालतले धरौटीमा रिहा गरेका प्रतिबन्धित नेकपाका कार्यकर्ता अदालत परिसरबाटै पुनः गिरफ्तार

जिल्ला अदालतले धरौटीमा रिहा गरेका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई प्रहरीले अदालत परिसरबाटै पुस १६ गते पुनः गिरफ्तार गरेको छ ।

युवा सङ्गठनका केन्द्रीय सदस्य ३९ वर्षीय तिलक पुन, अखिल नेपाल किसान संघ दाङका अध्यक्ष ४३ वर्षीय एकराज चौधरी, राजपुर गाउँपालिका इन्चार्ज ३७ वर्षीय धनबहादुर बोहरा र सदस्य ३४ वर्षीय कुलबहादुर वलीलाई धरौटी रकम बुझाए लगत्तै अदालत  परिसरबाटै धरपकड गरेर पुनः गिरफ्तार गरेको हो । जिल्ला अदालतले पुन, चौधरी, बोहरा र वलीसहित २१ जनालाई पुस ७ गते जनही १५ हजार रूपियाँ धरौटीमा रिहा गर्न आदेश दिएकोमा धरौटी बुझाउन नसकेर कारागार चलान भएका थिए । २१ मध्ये चार जनाका परिवारले पुस १६ गते जिल्ला अदालतमा धरौटी बुझाएका थिए ।

गिरफ्तार गरिएका आरोपितहरूलाई कपिलवस्तु जिल्ला प्रहरी कार्यालयमा लगिएको जनाए पनि कुन आरोपमा पुनः गिरफ्तार गरिएको हो भन्नेबारे प्रहरीले जानकारी दिएको छैन । एसपी जनकप्रसाद भटराईले यस विषयमा बुझ्ने काम भइरहेको बताउनुभयो । जिल्ला न्यायाधीश रितेन्द्र थापाले अदालतभित्रैबाट थुनुवालाई पुनः गिरफ्तार गर्नु  गलत काम भएको बताउनुभयो । जिल्ला बारका उपाध्यक्ष मणिराज आचार्यले प्रहरीको कदम गैरकानुनी रहेको र यस्तो कदमको बारले विरोध गर्ने बताउनुभयो ।

राजपुर गाउपालिका–४ स्थित मुङग्रैटा जङ्गलबाट असोज ३० गते उक्त पार्टीका केन्द्रीय सदस्य तथा मध्यपश्चिम कमाण्ड इञ्चार्ज २१ जनालाई प्रहरीले गिरफ्तार गरी राज्य विरूद्ध सङ्गठित अपराध सम्वन्धि मुद्दा चलाएको थियो ।

प्रहरीले दुर्व्यवहार गरेको परिवारजन आरोप

आफन्तको धरौटी रकम बुझाउन अदालत आएका परिवारजनमाथि प्रहरीले दुर्व्यवहार गरेको  पीडितहरूले आरोप लगाएका छन् ।  ३० वर्षीया महिलाले  आफूलाई  संवेदनशील अङ्गमा समातेर दुर्व्यवहार गरेको आरोप लगाउनुभयो । उहाँका अनुसार हातका चुरा फुटेको र  संवेदनशील अङ्गमा कुटपिट गरेको बताउनुभयो । उनीहरूले जिल्ला न्यायाधीश रितेन्द्र थापालाई भेटेर दुर्व्यवहार गर्ने प्रहरी माथि कारवाही हुनु पर्ने माग समेत गरेका थिए ।

जिल्ला बारद्वारा छानवीनको माग

जिल्ला बार एशोसिएशन दाङले राज्यविरुद्धको सङ्गठित अपराधको मुद्दामा जिल्ला अदालतद्वारा धरौटी खुलाएका मुद्दाका पक्ष र उनका परिवारमाथि प्रहरीले गरेको गैरकानुनी गिरफ्तारी र धरपकडको छानवीन गर्न माग गरेको छ । बारका सचिव किरणकुमार रेग्मीले पुस १६ गते विज्ञप्ति प्रकाशन गर्दै अदालत परिसरबाटै गिरफ्तार र धरपकड गर्ने काम मानव अधिकार र विधिको शासन विपरित भएको भन्दै तत्काल छानवीन गर्न सम्बन्धित पक्षसँग माग गर्नुभएको छ । विज्ञप्तिमा विधिको शासन मिचेर गरिने यस्ता कार्यप्रति बारको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गर्दै छानवीनका लागि सम्वन्धित निकायसँग माग गरिएको छ ।

 

2020010101dang2020010102dang

अन्य

भिडियो