INSEC Online

📅 २०८३ जेष्ठ २१

आन्दोलनका क्रममा सुदूरपश्चिम प्रदेशमा २ सय ३४ भौतिक संरचनामा क्षति

‘जेनजी’ आन्दोलनका क्रममा भएका आगजनी र तोडफोडबाट सुदूरपश्चिम प्रदेशमा सरकारी, निजी र पार्टी कार्यालय गरी २ सय ३४ भौतिक संरचनामा क्षति पुगेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार प्रदर्शनका क्रममा कैलाली र कञ्चनपुरमा बढी क्षति भएको छ । सरकारी कार्यालयतर्फ कैलालीमा दुई, कञ्चनपुरमा एक, बझाङमा एक र दार्चुलामा एक गरी पाँच वटा सरकारी संरचना पूर्ण रूपले क्षतिग्रस्त भएका छन् । प्रदेशभर १ सय ५१ वटा सरकारी संरचनामा आशिंक क्षति पुगेको प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक अर्जुन साउदले जानकारी दिनुभयो । आशिंक क्षति हुने सरकारी भवनमा पनि सबैभन्दा बढी कैलालीमा १ सय ३, कञ्चनपुरमा २४, डडेल्धुरामा नौ, डोटीमा आठ, अछाममा चार र दार्चुलामा तीन वटा छन् । यसैगरी व्यापारिक र निजीतर्फ ३८ घरमा क्षति पुगेकामा कञ्चनपुरमा सबैभन्दा बढी २३ र कैलालीमा १५ वटा रहेका छन् । प्रदेशमा ५ सय ७३ दुई पाङ्ग्रे र १ सय ३५ चार पाङग्रे गरी ७ सय ८ सरकारी सवारीसाधनमा क्षति पुगेको प्रहरीले जनाएको छ । निजीतर्फ तीन वटा सवारीसाधनमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले क्षतिबारे ठाडो निवदेन आए पनि जाहेरी नआएको बताउनुभयो । उहाँले जाहेरी आए सङ्कलन गरिने बताउनुभयो । यस्तै, कञ्चनपुर कारागारबाट भागेका ४ सय ७८ जनामध्ये ९८ जना फरार र खोजी कार्य जारी रहेको उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले सम्पत्ति क्षतिका हकमा कैलालीमा पनि जाहेरी नपरेको बताउनुभयो । उहाँले प्रदर्शनको मौका पारेर भागेका कैदीहरूमध्ये धेरै जना फर्केको र नफर्केकाहरूको खोजी भइरहेको बताउनुभयो । “कारागारबाट भागेकामध्ये ४ सय ६ जना फर्केर आएका छन् । अझै २ सय भन्दा बढी कैदी फर्केका छैनन् । उनीहरूको खोजी कार्य तीव्र रूपमा भइरहेको छ”, प्रवक्ता सिंहले भन्नुभयो, “हामीले प्रदर्शनका क्रममा काठमाडौँमा लुटिएका तीन थान हतियार कैलालीबाट बरामद गरी काठमाडौँ पठाएको छ ।” आन्दोलनका क्रममा सुदूरपश्चिममा प्रदेशसभा भवनदेखि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखकलगायत प्रदेशसभा सदस्य, पालिकाका प्रमुख तथा उपप्रमुखका निवास तथा व्यापारिक संरचनामा आगजनी र तोडफोड गरिएको थियो ।

रासस

अन्य

भिडियो