अथक मानवअधिकार योद्धा प्रकाश काफ्लेको स्मृतिमा इन्सेकद्वारा स्थापित प्रकाश मानव अधिकार पुरस्कार यस वर्ष काभ्रेपलाञ्चोक जिल्लाको नमोबुद्ध नगारपालिका–७, दाप्चाकी पूर्णिमाया लामालाई प्रदान गर्ने निर्णय गरिएको छ ।
सरकार र माओवादीबीचको सशस्त्र द्वन्द्वका क्रममा भएका ज्यादतीका घटनाकी एक पीडित पूर्णिमाया आफ्नो अधिकारप्रति सजग हुनुहुन्छ । यस वर्षको पुरस्कारका लागि गरिएको खुला आह्वानमा आएका ५८ जनाको नामबाट एक जनाको नाम सिफारिस गर्न सहज थिएन । तर, सङ्क्रमणकालीन न्यायिक प्रकृया पूरा हुन बिलम्व भइरहेको आजको परिप्रेक्ष्यमा उहाँको न्याय प्राप्तिको उत्कट आकाङ्क्षाको सम्मान न्यायको माग गरिरहेका सबै द्वन्द्व पीडितहरूका लागि प्रोत्साहनको विषय हो भन्ने हाम्रो ठहर छ । तमाम प्रतिकूलताको बेवास्ता गर्दै उहाँले सशस्त्र द्वन्द्वका क्रममा मारिएका आफ्ना पति अर्जुनबहादुर लामाको हत्याको घटनाको सत्यतथ्य उजागर गर्न र हत्यामा संलग्न व्यक्तिहरूउपर कारबाही चलाउन निर्भिकतापूर्वक सङ्घर्षरत् पूर्णिमाया सङ्क्रमणकालीन न्यायिक प्रकृयालाईं टुंगोमा पु¥याउन चाहने सबैका लागि प्रेरणाको स्रोत हुनुहुन्छ ।
आफ्नो अधिकारका लागि सम्झौताहीन सङ्घर्ष गर्ने पूर्णिमायाले मानव अधिकार अभियानमा उर्जा थप्नु भएको छ । हामी उहाँलाई हार्दिक बधाई ज्ञापन गर्दै न्याय प्राप्तीको लडाईंमा उहाँको सफलताको कामना गर्दछौं ।
![]()
डा. कुन्दन अर्याल सुशील प्याकुरेल
अध्यक्ष संयोजक