मिति: २०७२ भदौ ८
प्रेस विज्ञप्ति
कैलाली जिल्लाको टीकापुरमा भदौ ७ गते थरुहट आन्दोलनकारीको प्रदर्शनका क्रममा भएको हिंसात्मक घटनाप्रति अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को गम्भीर ध्यानाकर्षण भएको छ । उक्त घटनामा सात जना प्रहरीहरू, एक प्रहरीका दुई वर्षीय छोरा मारिएको र आन्दोलनकारी पक्षका तीन जना घाइते भएको पुष्टि भइसकेको छ । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।
आन्दोलनकारी पक्षबाट अत्यन्त बर्बरतापूर्वक प्रहरीहरू र दुई वर्से बालक मारिएको तथ्य सार्वजनिक भइसकेको छ । यस्तो अमानवीय एवम् घृणास्पद कार्यको निन्दा गर्दछौँ ।
शान्तिपूर्ण आन्दोलनका लागि कुनै पनि प्रकारका हतियारको आवश्यकता पर्दैन र हिंसाबाट कुनै पनि समस्याको समाधान हुन सक्दैन भन्ने कुरा हेक्का राख्न आन्दोलनकारी पक्षसँग आग्रह गर्दछौँ ।
टीकापुरमा भएको हिंसात्मक घटनाका दोषीहरूलाई कानुनी कारबाही गर्नका लागि यथाशीघ्र न्यायिक छानबिन गर्नुका साथै घाइतेहरूको उपचारको समुचित प्रबन्ध गर्न सरकारसमक्ष माग गर्दछौँ ।

सुबोधराज प्याकुरेल
अध्यक्ष