सर्न्दर्भः अन्तर्राष्ट्रिय बालअधिकार दिवस
२०७१ मङ्सिर ४ गते
प्रेस विज्ञप्ति
संयुक्त राष्ट्रसङ्घले बालअधिकारसम्बन्धी महासन्धि, १९८९ पारित गरेको आज २५ वर्षभएको छ । नेपालले उक्त महासन्धि २०४७ भदौ २९ गते अनुमोदन गरेको थियो । नोभेम्बर २० मा विश्वभर अन्तर्राष्ट्रिय बालअधिकार दिवस मनाइन्छ । यस सर्न्दर्भमा नेपालका बालबालिकाको अवस्थाप्रति हामी गहन चासो व्यक्त गर्दछौँ ।
इन्सेकको अभिलेखअनुसार सन् २०१४ को १० महिनाको अवधिमा कम्तिमा ६५ जना बालबालिका बेचविखन, २ सय ५० जना बलात्कार, ८७ जना यौन दुर्व्यवहारबाट पीडित रहेको पाइएको छ । यस अवधिमा गैरराज्यपक्षबाट मारिएका २० जना बालबालिकामध्ये १३ जना बालिका रहेका छन् ।
यसै गरी, सन् २०१३ र सन् २०१४ मा बालबालिका पीडित हुने क्रम घटेको छैन । यसले बालबालिकाप्रति वर्तमान पुस्ताको असंवेदनशीलताको परिचय दिन्छ । सन् २०१३ मा बालअधिकार उल्लङ्घनका बालअधिकार उल्लङ्घन ७ सय ९९ घटना इन्सेकले अभिलेखिकरण गर्यो । यी घटनामध्ये बलात्कारका ४ सय ७ घटना रहेका थिए । यही वर्ष ३९ जना बालबालिकाको हत्या भयो भने १७ जना बालबालिका अपहरित भए । त्यस्तै यौनदुर्व्यवहारका ८७ घटना अभिलेखित भएका थिए । सन् २०१४ को अक्टोबर महिनासम्म इन्सेकले ४ सय ५५ बालबालिकाको अधिकार उल्लङ्घन भएको अभिलेख गरेको छ । जसमध्ये बालश्रमका नौ, बेचविखनका ६५,बालविवाहका २२, बलात्कारका २ सय ५०, नवजात शिशुको हत्या ११ रहेका छन् । यसै गरी, यो अवधिमा २० बालबालिकाको हत्या र १४ जना बालबालिका अपहरित भए ।
नेपालमा बालबालिकामाथि हुने गरेका यौनजन्य हिंसा र दुर्व्यवहार रोक्न कानुनको अपर्याप्तता र विद्ममान कानुन पनि संवेदनारहित ढङ्गबाट कार्यान्वयन भइरहेको छ । नेपालको मुलुकी ऐनको १४ नम्बर महलमा जबरजस्तीकरणी र यौनहिंसाका बारेमा उल्लेख गरिएको भए पनि ३५ दिने हदम्यादका कारण कतिपय घटनाहरू कानुनको दायरमा आइपुग्दैनन् । आफूमाथि भइरहेको शोषणलाई परिवारजनसमक्ष समयमा व्यक्त गर्न नसकेका कारण दोषीलाई उन्मुक्तिको आधार बनाउनु कदापि न्यायपूर्ण मान्न सकिँदैन । हामी विद्यमान कानुनलाई बालबालिकाका हितानुकूल परिमार्जनको माग गर्दछौँ ।
बालबलिकामाथि विद्यालयमा हुने शारीरिक दण्डबाट बालबालिकामा पर्ने असरका बारेमा सम्बन्धित क्षेत्रले अझै ध्यान दिन सकेको छैन । विद्यालयहरू अपाङ्गतामैत्री नभएका कारण कैयन बालबालिका शिक्षा पाउनबाट वञ्चित भइरहेको अवस्था छ । मातृभाषामा आधारभूत अध्ययन अझै पनि व्यवहारमा परिणत हुन सकेको छैन ।
उपरोक्त तथ्यहरूले नेपालका बालबालिकाको बालापनरहित अवस्थाको चित्रण गर्छ । वर्तमान पुस्ताले बालबालिकालाई भविष्यका कर्णधारका रूपमा प्रसारित गर्ने गरेको छ । तर, ती कर्णधारलाई योग्य बनाउन लागि उनीहरूको संरक्षण र विकासमा आफ्नो भूमिका स्पष्टताका साथ अवलम्बन गरिरहेको छैन । राजनीतिक दल,शिक्षक समुदाय, अभिभावकवर्ग सबैले यस विषयलाई गम्भीरतापूर्वक आ-आफ्नो क्षेत्रबाट सरकारको ध्यानाकर्षण गराउन आग्रह गर्दछौँ ।

सुबोधराज प्याकुरेल
अध्यक्ष