INSEC Online

📅 २०८३ जेष्ठ २१

०७२ भदौ ३० गते

०७२ भदौ ३० गते

प्रेस विज्ञप्ति

भैरहवा-लुम्बिनी सडक खण्डको बेथरी चोकमा हाटबजार चलिरहेको ठाउँमा मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच भदौ २९ गते बेलुका भएको झडपमा प्रहरीले प्रहार गरेको गोलीबाट दुई बालबालिकासहित चार जनाको मृत्यु भएको घटनाले हामीलाई मर्माहत तुल्याएको छ । मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

हाटबजार भर्न आएका स्थानीय तथा आन्दोलनमा कुनै सरोकार नभएका गोनहा गाविस -६ बेथरीका अन्दाजी ४० वर्षीय बिन्दु लाकौल, सोही ठाउँका अन्दाजी ४० वर्षीय राजकुमार बरई,सोही ठाउँकी १० वर्षीया रञ्जना सिंह क्षेत्री र चार वर्षीय कुन्दन पटेलको प्रहरीको गोली लागेर मृत्यु भएको प्रारम्भिक अनुगमनबाट खुलेको छ  ।

लुम्बिनी करिडोरमा रोकिएका पाँच दर्जन जति मालबाहक ट्रकलाई स्कर्टिङ गरी लैजाने क्रममा आन्दोलनकारीले हाटबजारमा रहेका सर्वसाधारणकै बीचबाट गाडीमाथि ढुङ्गामुढा गरेपछि प्रहरीले भिड नियन्त्रणमा लिन अश्रुग्याँस प्रहार गरेको, आन्दोलनकारीले प्रहरीकै गाडीमा ढुङ्गा हानेपछि हवाइफायर गरिएको र त्यसबाट पनि नियन्त्रण नभएपछि बाध्य भएर केही राउण्ड गोली चलाइएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रमुख एसपी राजेन्द्र ढकालको भनाइ रहेको छ  ।

शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारको उपयोग गर्दा आमजनताको जिउज्यानमा खतरा पुर्‍याउने,  महिला तथा बालबालिकालाई  जुलुस तथा प्रदर्शनको अग्रपङ्क्तिमा राख्ने जस्ता जोखिमपूर्ण कार्य नगर्न प्रदर्शनकारीहरूलाई आग्रह गर्दछौँ । आन्दोलनमा प्रत्यक्ष सामेल नभएका सर्वसाधारणहरू यस घटनामा पीडित भएको हाम्रो प्रारम्भिक निष्कर्ष रहेको छ । अतः यस घटनाको न्यायोचित छानबिन गरी दोषीहरूलाई कारबाही गर्न तथा र्सवसाधारणको जिउधन र स्वतन्त्रताको भरपर्दो प्रबन्ध गर्न सरकारसँग माग गर्दछौँ ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल
अध्यक्ष

अन्य

भिडियो