INSEC Online

📅 २०८३ जेष्ठ २१

०६२ माघ ४ गते

०६२ माघ ४ गते

प्रेस विज्ञप्ति

सरकारले मुलुकका सात राजनीतिक दलहरूद्वारा घोषणा गरिएका शान्तिपूर्ण विरोध प्रदर्शनहरूलाई रोक्ने नियतले ०६२ माघ ३ गतेदेखि राजधानी लगायत मुलुकका प्रमुख शहरहरूमा अनिश्चितकालीन कर्फ्यू आदेश जारी गरेको २४ घण्टा बित्न नपाउँदै सात राजनीतिक दलका कार्यकर्ताहरूलाई अन्धाधुन्ध गिर्फतार गर्न थालेको छ । शान्तिपूर्ण विरोधसभामा भाग लिन जाने क्रममा ०६२ माघ ४ गते अपराह्न हा“डीगाउ“बाट नेपाली कांग्रेसका नेता नरहरि आचार्य, नेपाली कांग्रेस (प्रजातान्त्रिक) का केन्द्रीय सदस्य एनपी सावदसहित तीनजना र नयाँबानेश्वरबाट नेकपा (एमाले) का योगेश भट्टराईलगायत राजनीतिक नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

अनिश्चितकालीन निषेधाज्ञाको र कर्फ्यू आदेशको आडमा मुलुकका प्रमुख दलका शान्तिपूर्ण विरोध कार्यक्रमलाई रोक्ने र राजनीतिक कार्यकर्तालाई त्रसित तुल्याउन जथाभावी गिरफ्तार गर्ने सरकारी रवैयाले शान्तिपूर्ण रूपमा भेला, सम्मेलन र विरोध प्रदर्शन गर्न पाउने नागरिकहरूको संवैधानिक हकलाई सम्पूर्ण रूपमा कुण्ठित गरेको छ । यति मात्र होइन,असंवैधानिक सरकारले देखाएको पछिल्लो रबैयाले जनताको आधारभूत मानवअधिकारको समेत ठाडो उल्लंघन भएको छ ।

सरकारले जारी गरेको अनिश्चितकालीन कर्फ्यू आदेश र राजनीतिक दलका कार्यकर्ताको जथाभावी गिरफ्तारीको हामी एकैसाथ कडा विरोध जनाउँछौ । साथै, शान्तिका पक्षधर राजनीतिक दलका शान्तिपूर्ण विरोध प्रदशनलाई रोक्ने नियतले जारी कर्फ्यू तथा निषेधाज्ञाको आदेश तत्काल फिर्ता गर्न र गिरफ्तार गरिएका सम्पूर्ण राजनीतिक कार्यकर्तालाई शीघ्र रिहा गर्न माग गर्दछौं ।

Subodh_Nepali_Sign
सुबोधराज प्याकुरेल
अध्यक्ष

अन्य

भिडियो