INSEC Online

📅 २०८३ जेष्ठ २१

०६२ पुस १९ गते

०६२ पुस १९ गते

प्रेस विज्ञप्ति

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को कामको सिलसिलामा गइरहेको भे १ च ५७८ नम्बरको गाडीमाथि बाँके जिल्लाको कोहलपुरबाट चार-पाँच किलोमिटर पश्चिमतर्फअवस्थित मदनचोकमा एक समूहले आक्रमण गरी इन्सेक केन्द्रीय कार्यालयका अधिकृत शैलेश शर्मा र गाडीका चालक रमेश विकलाई घाइते बनाएको घटनाले हामीलाई गम्भीर बनाएको छ ।

इन्सेक सहकर्मीहरू सवार गाडीलाई स्थानीय मदनचोकमा बिहान साडे नौ बजे मध्यपश्चिम यातायात व्यवसायी संघ सुर्खेत र एकीकृत भेरी बस तथा मिनीबस व्यवसायी संघ बाँकेको नाममा जम्मा भएको करिब १०-१२ जनाको एक समूहले रोकेको थियो । रोकिएको गाडीलाई “यो त इन्सेकको गाडी रहेछ” भन्दै त्यही समूहका केही व्यक्तिले जान भनेका थिए । तर चालकले गाडी अघि बढाउन प्रयत्न गर्नासाथ सिसामा प्रहार गरिएको थियो । त्यसपछि उक्त समूहले गाडीमा तोडफोड गर्दै अन्धाधुन्ध कुटपिट सुरु गरेको थियो । तोडफोडबाट रु. २ लाख मूल्य बराबरको क्षति पुग्न गएको छ ।

प्रष्टसँग इन्सेकको नाम तथा लोगो रहेको गाडीमाथि, मानवअधिकारकर्मी संस्थाको गाडी भन्ने पहिचान पछिसमेत आक्रमण गरिनु सामान्य उत्तेजनाको मात्र परिणाम हो भन्ने हामीलाई लाग्दैन । त्यसैले उक्त घटनाको छानबिन राज्यले गर्नु पर्ने हाम्रो माग रहेको छ । यायायात व्यवसायीका नाममा एक समूहले मानवअधिकारकर्मी संस्थालाई निशाना बनाएको सम्बन्धमा यथार्थ पत्ता लगाउन मध्यपश्चिम यातायात व्यवसायी संघ सुर्खेत र एकीकृत भेरी बस तथा मिनीबस व्यवसायी संघ बाँके स्वयम् समेत अग्रसर हुनु पर्छ भन्ने हामी ठान्छौं । साथै, दोषीमाथि कडा कार्बाही गर्न र घाइतेको औषधोपचार तथा गाडीको समेत क्षतिपूर्तिका लागि माग गर्दछौं ।

Subodh_Nepali_Sign

सुबोधराज प्याकुरेल

अध्यक्ष

अन्य

भिडियो