०६२ चैत ९ गते
प्रेस विज्ञप्ति
०६२ माघ ६ गतेदेखि गृह नजरबन्दमा राखिनु भएका नेकपा (एमाले) का महासचिव माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा ०६२ चैत ९ गते दिउँसो साँढे ३ बजे १० जना शसस्त्र प्रहरी जर्बजस्ती प्रवेश गरी कम्प्यूटर, टेलिफोन र कर्डलेस सेटसहितका सञ्चार उपकरण जफत गरेको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।
यस घटनाले शाही सरकारको गैरजिम्मेवार प्रवृतिलाई मात्र उजागर गरेको छैन अपितु चरम निरंकुश चरित्रलाई अझ छर्लङ्ग तुल्याएको छ । मुलुकको जिम्मेवार राजनीतिक दल नेकपा (एमाले)का महासचिव तथा पूर्वउप्रधानमन्त्री माधवकुमार नेपालप्रति सरकारले गरेको यसप्रकारको पूर्वाग्रहपूर्ण र गैरकानुनी ज्यादतीको हामी कडा शब्दमा निन्दा तथा भर्त्सना गर्दछौं । लामो समयदेखि गृह नजरबन्दमा राखी महासचिव नेपालको सामान जफत गर्नुले सरकारले नागरिक स्वतन्त्रता ठाडो उल्लंघन गरेको छ ।
तसर्थ हामी शाही सरकारसँग मुलुकका राजनेताप्रति गरिएको यस प्रकारको दुर्व्यवहारप्रति क्षमायाचना गरी मानवअधिकारप्रति सम्मान दर्शाउँदै उहाँलाई गृह नजरबन्दबाट मुक्त गर्न अपिल गर्दछौं । साथै महासचिव नेपालको रिहाईको पहल गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय मानवअधिकार समुदायसमक्ष पुनः अपिल गर्दछौं ।

कुन्दन अर्याल
महासचिव