चितवन जिल्लाको तत्कालीन कल्याणपुर गाविस–१ र ४ को सीमानामा पर्ने बाँदरमुढे खोलामा ना १ ख ३२४५ नं. को सार्वजनिक बसमा २०६२ जेठ २३ गते नेकपा माओवादीका कार्यकर्ताले विद्युतीय धराप विष्फोट गराउँदा बसमा सवार ३५ जना सर्वसाधारण र तीन जना निशस्त्र सुरक्षाकर्मीसहित ३८ जनाको मृत्यु भएको घटनाको आज २० वर्ष पूरा भएको छ । घटनामा ७२ जना घाइते भएकोमा चार जनाको केही समयपछि मृत्यु भएको थियो । घटनामा मृत्यु हुनेको सङ्ख्या ४२ रहेको छ । बितेका २० वर्ष न्याय र परिपूरणका सन्दर्भमा देखिने गरी काम नभएको अवधिका रूपमा स्मरण गर्नु वाञ्छनीय हुन्छ ।
विस्तृत शान्ति सम्झौता पश्चात धेरै सरकारहरू फेरिए । अनेकौँ राजनीतिक सहमति भए । तर, बाँदरमुढे घटनालगायत सशस्त्र द्वन्द्वसँग सम्बन्धित गम्भीर मानव अधिकार उल्लङ्घनका घटनामा न्याय तथा परिपूरणका सवाल उपेक्षामा परिरहेका छन् । जघन्य अपराधका घटनाका पीडितहरूको न्यायको सवालमा ठोस प्रगति हुन सकेको छैन भने पीडितको न्यायप्रतिको आशा ज्युँका त्युँ छ । पीडितको न्याय तथा परिपूरणको अधिकारलाई नजरअन्दाज गरिरहने प्रवृत्ति कायम रहनु सुखद् होइन । विगतका सङ्क्रमणकालीन न्यायिक संयन्त्रहरूले पनि यो घटनाको अनुसन्धानमा तदारुकता देखाउन सकेको थिएनन् ।
बाँदरमुढे घटनालगत्तै २०६२ जेठ २३ गते नेकपा (माओवादी) का अध्यक्ष पुष्पकमल दाहालद्वारा जारी विज्ञप्तिमा घटनामा गल्ती भएको स्वीकार गर्दै घटनाको छानबिन गरी सत्य तथ्य सार्वजनिक गर्ने उल्लेख थियो भने त्यसयताका विभिन्न समयमा पनि अध्यक्ष दाहालले न्यायप्रतिको प्रतिबद्धता दोहो¥याइरहनु भएको छ । तर, यो सवालमा राजनीतिक नेतृत्वको अडान क्रमशः क्षयीकरण हुँदै गएको हामीले महसुस गरेका छौँ । आफ्ना प्रतिबद्धता, सहमति तथा सङ्क्रमणकालीन न्यायको सवाललाई प्राथमिकतामा राख्न तथा यससम्बन्धमा प्रभावकारी प्रयासहरूको थालनी गर्न हामी नेपाल सरकारसँग माग गर्दछौँ ।

डा. कुन्दन अर्याल
अध्यक्ष