आज चैत १५ गते पूर्व राजाका समर्थकहरूले काठमाडौँमा गरेको प्रदर्शनका क्रममा गरिएको आगजनी, तोडफोड र लुटपाटका घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र व्यक्तिको जिउधनको सुरक्षाको आधारभूत अधिकारको हनन् भएको छ । आन्दोलनका नाममा गरिएको आगजनीमा पत्रकारको मृत्यु भएको छ । यही क्रममा एकजना प्रदर्शनकारीको समेत मृत्युको खबर सार्वजनिक भएको छ । प्रदर्शनका नाममा राजनीतिक दल तथा आमसञ्चार माध्यमका कार्यालयहरूमा गरिएको आक्रमणलाई लोकतान्त्रिक अभ्यास मान्न सकिँदैन ।
जनताको जिउधनको सुरक्षा गर्ने आफ्नो दायित्व पूरा गर्न, अपराधमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन तथा आगामी दिनमा यस्ता घटनाको पुनरावृत्ति हुन नदिन आवश्यक सुरक्षा प्रबन्ध मिलाउन नेपाल सरकार समक्ष माग गर्दछौँ । घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मृतकहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।

डा. कुन्दन अर्याल
अध्यक्ष