नेपाल सरकारले घोषणा गरेको लकडाउनका कारण आफ्नो मातृभूमि फर्कन चाहने नेपाली नागरिकहरू सीमानाका विभिन्न भारतीय शहर तथा बस्तीहरूमा क्वारेन्टाइनमा रहेको, सयौँ नेपाली नागरिकहरू अलपत्र परेका र समस्या भोग्नुपरेको जानकारीमा आएको छ । दार्चुला जिल्लाको सीमाना धारचुलामा ६ सयभन्दा बढी, बैतडीको झुलाघाट नाकामा २ सय २७ जना, कञ्चनपुरको सीमा नाका बनवासामा १ सय १४ जना, भैरहवा सीमानाका बेलहियास्थित नौतुहवा इन्टरकलेजमा ३ सय ५ जना नेपाली क्वारेन्टाइनमा भएको पाइएको छ । नेपालको सीमानामा रहेका भारतीय नागरिकहरूलाई नेपाल सरकारले र भारतमा अलपत्र रहेका नेपाली नागरिकहरूलाई भारत सरकारले क्वारेन्टाइनमा राख्ने सहमति दुई देशबीच भए पनि भारतीय सीमानामा नेपाली नागरिकहरूको दैनिकी कष्टकर हुनु दुःखद् पक्षका रूपमा लिइनु पर्दछ ।
धारचुलाको क्वारेन्टाइनमा राखिएका नेपाली नागरिकहरूले आफूहरूलाई विद्यालयको ग्यालरीमा सामूहिक रूपमा सुताउने गरेको र खानाको प्रबन्धमा समेत समस्या रहेको गुनासो गरेका छन् । बनवासाको क्वारेन्टाइनमा खानाको समस्या नभए पनि सुत्न समस्या छ । प्राप्त जानकारी अनुसार सीमा क्षेत्रमा व्यवस्था गरिएका हरेक क्वारेन्टाइनमा सङ्क्रमण रोकथामका लागि आवश्यक न्यूनतम प्रबन्ध पनि नभएको देखिन्छ । उनीहरूबीच उचित दूरी कायम गर्न पनि समस्या भएको बुझिन्छ । बाँकेको जमुनाह नाकामा भारतीय क्वारेन्टाइनमा राखिएका करिब २ सय नेपाली त्यहाँ बस्न नमानेपछि चैत २१ गते बिहानदेखि नेपाली सेनाले दशगजा क्षेत्रमा क्वारेन्टाइनको व्यवस्था गरेको छ, जुन नेपाल सरकारका तर्फबाट चालिएको कदम स्वागतयोग्य छ ।
यस विषम परिस्थितिमा नेपाल भारत सीमा क्षेत्रका क्वारेन्टाइनमा राखिएका र अलपत्र परेका नेपालीको उचित व्यवस्थापन गर्न र आवश्यकता अनुसार भारत सरकारसमक्ष पनि आवश्यक पहलकदमी लिन हामी नेपाल सरकारसँग आग्रह गर्दछौँ ।

डा. इन्दिरा श्रेष्ठ
अध्यक्ष