०७२ सालको भूकम्पले हलेसी तुवाचुङ नगरपालिका-१ बाहुनीडाँडा कदुवाका क्षेत्रबहादुर कार्कीको घर चारैतिर चिराचिरा पर्यो । घर बस्न नमिल्ने गरी चिरा परेपछि चारजनाको कार्की परिवार पालमुनि बसिरहेको छ ।
भूकम्पछिको पुनर्निर्माणका क्रममा प्रभावित क्षेत्रमा आवास निर्माणको काम धमाधम सुरू हुँदा कार्कीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको सहयोगको आश गर्दै झण्डै तीन वर्ष त्रिपालमुनी बिताए । तर, उनको नाम हालसम्म लाभग्राही सूचीमा पनि पारिएन ।
‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आएका इञ्जिनियरको मूल्याङ्कनपछि पनि आफ्नो नाम लाभग्राही सूचीमा नपरेको कार्कीले बताए । भूकम्प गएको दिनदेखि म त्रिपालमा बसिरहेको छु । घरको चारैतिर चिरा परेको छ । चर्केका अरु घरले अनुदान पाउँदा मैले पनि पाउँछु भनेर बसेँ । तर, मेरो घर मूल्याङ्कनमा पारिएन ।’
छुट भएका भूकम्पपीडितका हकमा वडा कार्यालयमै फर्म भर्न भनिए पनि आफ्नो समस्या समाधान नभएको कार्कीको गुनासो छ । अनुदान पाउने प्रक्रिया लम्बिएपछि कार्कीले आफैँ घर बनाउने तयारी गरेका छन् । यस्तै, विनाशकारी भूकम्पमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-४ खाल्लेका टङ्क श्रेष्ठको घर पनि क्षतविक्षत भयो ।
घर पूर्ण क्षतिग्रस्त भएर बस्ने अवस्था नभएपछि श्रेष्ठले रातो कार्ड पाए । तर, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट आएका इञ्जिनियरको मूल्याङ्कनमा श्रेष्ठको घर आंशिक सूचीमा पर्यो । आवास अनुदान लिएर घर बनाउने बेलामा पूर्ण क्षति भएकाको सूचीबाट नाम हट्दा अन्याय भएको श्रेष्ठले बताए । भूकम्प पीडितले दोस्रो किस्ता पाउने बेला कतिपय भूकम्प पीडितको पहिलो किस्ता पाउने बाटो समेत खुलेको छैन ।
प्राधिकरणको इञ्जिनियरको मूल्याङ्नमा असन्तुष्टि जनाउँदै कतिपय भूकम्प पीडित जर्जर बनेको घरको फोटोसहित जिल्ला समन्वय समिति पुग्ने गरेका छन् । घर पूर्ण रूपमा क्षति भए पनि हालसम्म आवास अनुदान पाउनबाट वञ्चित भूकम्प पीडितको अवस्था दर्दनाक रहेको हलेसी तुवाचुङ नगरपनलिका-१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राईले बताए ।
छुटेका भूकम्प पीडितका लागि प्राधिकरणले गुनासो फर्म भराउनु भन्यो । गुनासो फर्म भर्यौँ । तर, गुनासो फर्म अनुसार प्राधिकरणबाट कुनै काम नभएको राईले बताए । ‘भूकम्प पीडितले सोधीखोजी गरेर हैरान बनाइरहेका छन् ।’-उनले भने ।
वडाध्यक्षका अनुसार घरमा बस्न लायक नभए पनि कदुवाका डाकबहादुर कार्की, खड्गबहादुर कार्की, चन्द्रबहादुर अधिकारी, सम्बरबहादुर कार्कीलगायत अनुदानबाट वञ्चित बनेका छन् । भूकम्पमा घर गुमाएर विस्थापित भए पनि अनुदान पाउनबाट वञ्चित भूकम्प पीडितको एकिन तथ्याङ्क सरोकारवाला निकायसँग छैन ।
तर, भूकम्प प्रभावित क्षेत्रमा पहिला पूर्ण क्षति भएकाको सूचीमा नाम समावेश भएका तर प्राधिकरणका इञ्जिनियरको पछिल्लो मूल्याङ्कनका आधारमा आंशिक क्षतिको सूचीमा नाम समावेश भएका भूकम्प पीडितको सङ्ख्या धेरै देखिएको छ । सुरूदेखि नै पूर्ण क्षति भएका पीडितको सूचीमा नाम समावेश हुँदै रातो कार्ड पाएका भूकम्पपीडित अन्तिममा आंशिकको सूचीमा पर्दा झनै चिन्तित छन् ।
क्षति भएका घरको नापजाँच र मूल्याङ्कन गरेर फर्किएका इञ्जिनियरको प्राविधिक मूल्याङ्कनमा आफ्नो नाम आंशिकमा राखिदिएको भन्दै नगरपालिका र गाउँपालिकामा गुनासो गर्न आउने पीडित उत्तिकै छन् ।
पूर्ण क्षतिमा परेका, रातो कार्ड पाएर घर भत्काएर आवास अनुदान लिएर नयाँ घर बनाउन तम्तयार भूकम्पपीडित अहिले अघि बढ्नु न पछि हट्नुको अवस्थामा छन् ।
जिल्ला समन्वय समितिका आवास अनुदान फोकल पर्सन रविकिरण आचार्यका अनुसार विभिन्न प्राविधिक समस्याका कारण खोटाङमा ८ हजार ४ सय ४३ पूर्ण क्षति भएका र २ सय ५३ आंशिक क्षति भएका लाभग्राही छन् ।
त्यसमध्ये ३ सय ८१ भूकम्प पीडित विभिन्न कारणले अझै आवास अनुदानबापतको पहिलो किस्ता पाउनबाट वञ्चित छन् । पूर्ण क्षति भएका भूकम्पपीडितसँग ०७३ चैत २९ गते आवास आनुदान सम्झौता सुरू गरेको प्राधिकरणले आंशिक क्षति भएका पीडितसँग कार्तिक १६ गतेदेखि आवास प्रवलीकरण अनुदान सम्झौता सुरु गरेको थियो ।