INSEC Online

📅 २०८३ जेष्ठ २१

सामूहिक बलात्कार गरेको ठहर गर्दै १० वर्षकैदको फैसला

४८ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका तीन जना आरोपित मध्येका एक ताप्लि गाउँपालिका-५ का ४५ वर्षीय भागिराम परियारलाई जिल्ला अदालतले वैशाख ५ गते बलात्कार गरेको ठहर गर्दै १० वर्षकैद र क्षतिपुर्ति बापत ३० हजार रुपियाँ पीडितलाई उपलब्ध गराउने गरी फैसला सुनाएको छ ।

न्यायाधीश तिर्थराज केसीको इजलासले भागिरामलाई एक पटक बलात्कार गरेको कसुरमा पाँच वर्ष र सामूहिक बलात्कार गरेको कसुरमा पाँच वर्षगरी १० वर्षजेल सजायको फैसला सुनाएको हो ।

०७३ पुस १८ गते भागिराम, उदयपुरगढी गाउँपालिका-१ बञ्चरेका ४० वर्षीय लोकबहादुर घतानी र सोही ठाउँका ५० वर्षीय धनबहादुर बिकले सामूहिक बलात्कार गरेको भन्दै पीडित पक्षले पुस १८ गते इलाका प्रहरी कार्यालय कटारीमा उजुरी दिएको थियो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण पुस १८ गते नै कटारी अस्पतालमा भएको थियो । पीडितको निवेदन पछि भागिरामलाई प्रहरीले पुस २० गते गिरफ्तार गरेकोमा अदालतले माघ १२ गते पुर्पक्षका लागि थुनामा राख्ने आदेश दियो । अन्य आरोपितहरूलाई मुल्तवीमा राखेर कारबाही प्रकृया अघि बढाउने आदेश भएको स्रेस्तेदार ऋतबहादुर मगरले बताए ।

अन्य

भिडियो