२८ वर्षीया महिलालाई ढाँटेर विवाह गरेर भारत घुम्न जाउँ भनी लगेर भारतको बाटो हुँदै कुवेतमा ४ लाख रुपियाँमा बेचेको आरोपमा प्रहरीले ओमसतिया गाउँपालिका-५ लखनचोकका ४२ वर्षीय भुवन बिकलाई चैत १४ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले भारतको बाटो हुँदै घरको कामका लागि कुवेत पठाएको र कुवेत पुगेको एक महिनापछि बिरामी भएर काम गर्न नसक्ने भएपछि ‘मलाई नेपाल फर्काइदेउ भनी मालिकसँग भन्दा ४ लाख ५० हजार रुपियाँमा’ पतिले आफूलाई बेचेको भनी थाहा पाएको बताइन् ।
पीडित महिलाले आफू बेचिएको थाहा पाएपछि भागेर एक नेपाली महिलाको सहयोगमा नेपाली दुतावासको सहयोगमा चैतको ६ गते नेपाल फर्केकी थिइन् ।
घटनाका विषयमा थ्री एन्जल्स संस्थाको सहयोगमा न्यायका लागि आरोपितविरूद्ध जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा चैत १४ गते उजुरी दिएकी थिइन् ।
पीडितको उजुरीका आधारमा प्रहरीले आरोपितविरुद्ध चैत १४ गते नै मानव बेचविखन तथा ओसार पसारसम्बन्धी उजुरी दर्ता गरी कारवाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका डिएसपी डिल्लीनारायण पाण्डेले बताए ।