अन्तर्राष्ट्रिय महिला दिवस धुमधामका साथ मनाइरहेकै बेला सप्तरीमा फागुन महिनामा मात्र दुई वर्षीया बालिकादेखि २५ वर्षीया महिला गरी ६ जना बलात्कृत भएका छन् ।
पाँच जना आरोपितलाई गिरफ्तार गर्न सफल प्रहरीले अझै नौ आरोपितलाई गिरफ्तार गर्न नसकेको जनाएको छ । यौन दुर्व्यवहार भइरहेको बा.५ ख ३१४१ नम्बरको माइक्रो बस प्रहरी नियन्त्रणमा छ ।
सो माइक्रो बसमा १८ वर्षीया युवतीसँग फागुन २९ गते राति यौन दुर्व्यवहार गरिरहेकै अवस्थामा सिरहा भगवानपुर गापा-९ का २३ वर्षीय बैजनाथ दास र बाँके जिल्ला राप्तीसनरी गापा-५ का ३३ वर्षीय खेमराज बैश्य छिन्नमस्ताबाट गिरफ्तार भएको डिएसपी धु्रवकुमार श्रेष्ठले बताए ।
औषधि लिन फागुन २७ गते पसल निक्लिएकी १६ वर्षीया बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा शम्भुनाथ नपा-३ का २० वर्षीय एटलाण्टिक चौधरी र सोही ठाउँका २० वर्षीय अजयकुमार चौधरी गिरफ्तार भए पनि पाँच जना आरोपित फरार छन् ।
विवाह भोज खाएर घर फर्किरहेका बेला फागुन २६ गते राति २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोप लागेका बिष्णुपुर गाउँपालिका-५ का ३५ वर्षीय जिवछ राम र विष्णुपुर गाउँपालिका-३ का ३० वर्षीय इसराइल मियाँसमेत गिरफ्तार हुन नसकेको प्रहरीले जनाएको छ ।
शौच गर्न फागुन १९ गते राति घर बाहिर निक्लिएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका भगवतपुर-१ का २० वर्षीय शङ्करकुमार खंग पनि फरार छन् ।
भैँसी चराउन गएकी नौ वर्षीया बालिका फागुन २३ गते र खेलिरहेकी दुई वर्षीया बालिका फागुन ३ गते बलात्कार घटनाबाट पीडित भए । दुवै घटनामा आरोपितहरू समेत बालक नै छन् । एक जना अभिभावकको संरक्षणमा रिहा भएका छन् भने अर्का एक जना आरोपित फरार छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कमा आर्थिक वर्ष०७३/०७४ मा २६ जना महिलामाथि बलात्कार र १० जनामाथि बलात्कारको प्रयास भएको छ ।
बलात्कार गर्ने आरोपितको सङ्ख्या २९ रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीको मुद्दा शाखाले जनाएको छ । बलात्कार गर्न खोज्नेको सङ्ख्या भने १५ रहेको छ ।