INSEC Online

📅 २०८३ जेष्ठ २१

अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा महिला जनप्रतिनिधिहरूसँग अन्तरक्रिया

१ सय ८ औँ अन्तर्राष्ट्रिय महिला दिवसको पुर्व सन्ध्यामा पोखरा-लेखनाथ मनपामा रहेका १५ वडा र कास्कीमा रहेका चार गाउँपालिकाका महिला जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम फागुन २३ गते सम्पन्न भएको छ ।

राष्ट्रिय मानव अधिकार आयोग क्षेत्रीय कार्यालय पोखरा, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पोखरा कार्यालय र शान्तिका लागि नागरिक समाजको सञ्जाल पोखराले महिला अधिकार संरक्षण तथा सम्बर्द्धनमा महिला जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेका हुन् ।

अर्न्तक्रियामा बोल्दै प्रदेश ४ की उपसभामुख सिर्जना शर्माले महिलाहरू आर्थिक, सामाजिक, राजनीतिक अधिकारबाट विभेदमा परेको बताउँदै विभेद उन्मुलनको जिम्मेवारी महिला जनप्रतिनिधिमा रहेको उल्लेख गरिन् ।

उपसभामुख शर्माले प्रदेश ४ को कानुन निर्माणका क्रममा महिलाको आर्थिक, सामाजिक, राजनीतिक र महिला तथा बालबालिकाको अधिकारको विषयलाई आफुले प्राथमिकतामा राखी पहल गर्ने प्रतिबद्धता ब्यक्त गरिन् ।

महिला तथा बालबालिका कार्यालयकी सत्या पहाडीले सबै तहको निर्वाचन पश्चात् नीति निर्माणको तहमा महिलाको सहभागिता उल्लेख्य बढेकोले अवसरका साथै चुनौती पनि थपिएको बताइन् ।

चुनौतीलाई चिर्न कार्यक्षेत्रमा महिला जनप्रतिनिधिहरू चनाखो भएर लाग्नुपर्ने बताउँदै पहाडीले महिलाको अधिकारसँगै कर्तव्य पालनामा पनि सशक्तिकरण ल्याउन जनप्रतिनिधिको भूमिका महत्वपुर्ण हुने बताइन् ।

महिला मानव अधिकार रक्षक सञ्जाल कास्कीकी अध्यक्ष जानकी शर्माले महिलाका समस्यालाई समाधान गर्न महिला जनप्रतिनिधिले विशेष ध्यान दिनुपर्ने बताउँदै महिला सशक्तिकरणका लागि महिलासँगै पुरुष पनि समान रूपमा जिम्मेवार हुनुपर्ने बताइन् ।

गैरसरकारी संस्था महासङ्घका उपाध्यक्ष इन्दिरा पौडेलले महिलाको ज्ञान र सिपलाई व्यवहारिक रूपमा हस्तान्तरण गरे मात्र महिलाहरूमा आर्थिक समृद्धि आउने बताइन् । राष्ट्रिय मानव अधिकार आयोगकी निमित्त निर्देशक नितु गर्तौलाले महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि (सिड) सम्बन्धी कार्यपत्र प्रस्तुत गरेकी थिइन् ।

अन्य

भिडियो