INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरिफ्तार

२१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दाङ जिल्ला घर भएका ३४ वर्षीय बेदराज डाँगी र लम्जुङ जिल्ला राइनास नपा-८ का ३३ वर्षीय विष्णु सापकोटालाई फागुन १० गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितद्वयले फागुन ४ गते ना ५ ख ५३६८ नम्बरको रात्री बसमा लमहीबाट काठमाडौँ जाने भनी चढाएर ल्याउने क्रममा बसभित्रै बलात्कार गरेको आरोपमा पीडित युवतीले फागुन ५ गते इलाका प्रहरी कार्यालय, आँबुखैरेनीमा उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीको आधारमा प्रहरीले आरोपितद्वयलाई चितवनको नारायणगढ बजारबाट गिरफ्तार गरी अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी उमेशराज जोशीले बताए ।

एसपी जोशीका अनुसार सापकोटा बसका चालक हुन् भने डाँगी सहचालक हुन् । पीडितको उजुरी अनुसार दाङको लमहीबाट काठमाडौँ जाने बस भएपनि उनीहरूले मुग्लिन आइपुगेपछि अन्य यात्रुलाई ओराली युवतीलाई मात्रै गाडीमा राखेका थिए । पीडित युवतीलाई घर पुर्‍याउने बहानामा तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरा नजिकै बस भित्रै बलात्कार गरेको भनी पीडित युवतीले दिएको उजुरीमा उल्लेख छ ।

पीडित युवतीको स्वास्थ परीक्षण फागुन ५ गते जिल्ला अस्पताल दमौलीमा भएको जिल्ला प्रहरी कार्यालय, तनहुँले जनाएको छ ।

अन्य

भिडियो