पोखरा लेखनाथ मनपा-१४ स्थित विजयपुर खोलाको पुलमा फागुन ८ गते बिहान बम विष्फोट हुँदा दुईजना घाइते भएका छन् ।
सो विष्फोटमा परी प्रहरी जवान कूलबहादुर खत्री र पोखरास्थित गण्डकी टेलिभिजनमा कार्यरत पत्रकार घनश्याम पाण्डे घाइते भएका हुन् । घाइते दुवैजनाको गण्डकी मेडिकल कलेज, पोखरामा उपचार भइरहेको छ ।
बिहान बम भेटीएपछि सोबारे समाचार सङ्कलनका लागि पुगेका पत्रकार पाण्डे र सुरक्षार्थ खटिएका प्रहरी जवान खत्री बम विष्फोटमा परी घाइते भएका थिए । घाइते दुवैको घाँटीमा चोट लागेको छ ।
बम भेटेपछि नेपाली सेनाको टोलीलाई खबर गरिएपनि टोली घटनास्थल पुग्नुअघि नै बम विष्फोट भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । विष्फोट घटनापछि इन्सेक पोखरा कार्यालयका संयोजक शिव खकुरेल सहितको टोलीले घाइतेको अवस्था र घटनास्थलको अनुगमन गरेको थियो ।


