INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपितविरूद्ध उजुरी दर्ता

होटल चलाएर बसेकी ३१ वर्षीया महिलालाई फागुन ५ गते दिँउसो बलात्कार प्रयास गरेको आरोपमा ज्वाला दल गणका प्युठ ३४ वर्षीया बासुदेव सापकोटाविरुद्ध फागुन ६ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा जबरजस्ती करणी उद्योगको कसुरमा उजुरी दर्ता भएको छ ।

विरेन्द्र शान्ति तालिम केन्द्र पाँचखालमा दुई महिनाअघि तालिमका लागि आएका पनौती नपा-३ कुशादेवीका सापकोटा तालिम केन्द्र नजिकै पाँचखाल नपा-५ शिखरपुर घर भएका शरण सापकोटासँग मदिरामा मात्तिएर महिलामाथि दुर्व्यवहार गर्न पुगेको आरोप छ ।

पीडित महिलाका पतिसमेत नेपाली सेनामा कार्यरत रहेको र विदामा घरमा भएकै अवस्थामा चाउचाउ बनाउन लगाई पसल पछाडी रहेको पीडित महिलाको कोठामा पुगी चुकुल लगाएर बलात्कार प्रयास गरेको पीडित पक्षले जनायो ।

पीडित महिलाले हारगुहार गरेपछि स्थानीय जम्मा भएर ढोका फुटाई महिलाको उद्दार गर्नुका साथै आरोपित सैनिक प्युठलाई कुटपिट गरेका थिए ।

घटनापछि तालिम केन्द्रबाट गएका सैनिक अधिकारीहरूले आरोपित र उनको साथी शरण सापकोटालाई नियन्त्रणमा लिएर सैनिक हिरासतमा लिएको जनाइएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलमा गरिएको छ । जिल्ला प्रहरी कार्यालयको पत्र प्राप्त भएपछि आरोपित बासुदेव सापकोटालाई प्रहरीलाई बुझाइने सैनिक अधिकारीहरूले जनाएका छन् ।

अन्य

भिडियो