खडक नपा-९ की ११ वर्षीया पार्वतीकुमारी मण्डलको बलात्कारपछि हत्या गरेको आरोपमा उनकै दाजु १८ वर्षीय राजदेव मण्डललाई प्रहरीले गिरफ्तार गरी फागुन ४ गते सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालयमा फागुन ४ गते आयोजित पत्रकार सम्मेलनमा एसपी मुकेशकुमार सिंहले परिवारकै सदस्यबाट भएको घटनाका आरोपितलाई जोगाउने प्रयासमा पीडितपक्ष समेत लागेपछि अनुसन्धानमा बढी समय लागेकाले ढिलोगरी घटना सार्वजनिक गर्नु परेको सुनाए ।
एसपी सिंहका अनुसार बिरामी भएर कोठामा सुतिरहेकी बालिकालाई उनकै ठूलोबुवाको छोरा मण्डलले माघ २५ गते साँझ बलात्कार गरेपछि रुन थालेकी बालिकाको आवाज अन्य मानिसले थाहा नपाउन भनेर पीडितकै कुर्ताले घाँटीमा कसेर हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
एसपी सिंहले भने-‘पाँच दिन अगाडि आरोपित गिरफ्तार भएपनि थप सबुद प्रमाण सङ्कलन भएपछि आरोपितले समेत अपराध स्वीकार गरेकाले पत्रकार सम्मेलन गरेर घटना सार्वजनिक गरिएको हो ।’
आफ्नै कालगतिले मृत्यु भएकी भनिएकी बालिकाको लाशलाई माघ २६ गते पोष्टमार्टम गर्न लहान पुर्याइएकोमा परीक्षणका क्रममा चिकित्सकहरूले बालिका बलात्कृत भएको सङ्केत गरेपछि प्रहरीले सुक्ष्म ढङ्गले अनुसन्धान थालेको एसपी सिंहले बताए ।
अनुसन्धानमा संलग्न इलाका प्रहरी कार्यालय कल्याणपुरका इन्स्पेक्टर हरिविष्णु ढकालले भने-‘घाँटीमा डोरीको डाम र चिकित्सकहरूले हत्याका साथै बलात्कारसमेत भएको आशङ्का गरेपछि आरोपित फरार हुन खोजिरहेकै बेला माघ २८ गते गिरफ्तार गरी सुक्ष्म ढङ्गले अनुसन्धान थालेका हौँ ।’
लहानमा शवको पोष्टमार्टम हुन नसकेपछि पोष्टमार्टमका लागि माघ २६ गते धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याइएको थियो ।