होटल चलाएर बसेकी २१ वर्षीया महिलालाई फागुन १ गते साँझ नमोबुद्ध नपा-१० भकुण्डेबशीबाट अपहरण गरी पनौतीमा ल्याएर बलात्कार गरेको आरोपमा दैलेख जिल्ला चामुण्डा नपा-२ का २१ वर्षीय बमबहादुर विष्टलाई फागुन २ गते बिहान प्रहरीले गिरफ्तार गरेको छ ।
रातको समयमा पीडितले आफूलाई अपहरण गरी पनौतीतर्फ लगेको भनेर परिवारलाई फोन गरेपछि रातभर प्रहरी र पीडितका आफन्तले खोजी गरेका थिए । सोही रात पीडितको उद्दार र आरोपितलाई गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
पीडितले फागुन २ गते जिल्ला प्रहरी कार्यालय धुलिखेलमा अपहरण र बलात्कार शीर्षकमा उजुरी दिएकी छन् । घटनाको निश्पक्ष छानबिन गरी दोषीलाई कारवाहीको माग गर्दै काभ्रे-१ का सांसद गङ्गाबहादुर तामाङ र मानव अधिकारकर्मीलगायत प्रहरी कार्यालय पुगेका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षणका लागि फागुन २ गते साँझ नै प्रसूति गृह थापाथली पठाइयो । पीडित र आरोपित दुवैको अनुहार र शरीरमा नीलडाम देखिन्छ । घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सहकुलबहादुर थापाले बताए ।