INSEC Online

📅 २०८३ जेष्ठ २१

सिडको छायाँ प्रतिवेदन तयारीका लागि सुझाव सङ्कलन

महिला विरूद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि (सिड)को छायाँ प्रतिवेदन तयारीका लागि माघ २५ गते पोखरामा सुझाव सङ्कलन गरिएको छ ।

सिडको लागी गैरसरकारी संस्थाको तर्फबाट बुझाइने छायाँ प्रतिवेदनको तयारीका साथै सुझाव सङ्कलनका लागि मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्र, वियोण्ड बेइजिङ कमिटी (बिबिसी), नारी सेवा केन्द्र कास्की र राइट हियर राइट नाउको संयु्क्त आयोजनामा सम्पन्न कार्यशालामा सिडको छायाँ प्रतिवेदन तयारीका लागि सुझाव संकलन गरिएको हो ।

कार्यशालामा मानव अधिकार सन्धि अनुगमन समन्वय केन्द्रको सचिवालय इन्सेककी बहस तथा पैरवी विभाग प्रमुख सम्झा श्रेष्ठले प्रस्तुत गरेको कार्यपत्रमाथि छलफल गर्दै कार्यक्रमका सहभागीहरूले छायाँ प्रतिवेदनमा नेपालमा महिलाविरूद्ध भएका सबै प्रकारका गतिविधिलाई जस्ताको तस्तै लैजान सुझाव दिएका थिए ।

महिलाको राजनीतिक तथा सामाजिक अधिकार, महिला स्वास्थ्य, घरेलु हिंसामा कानुनी व्यवस्था, नागरिकता हस्तान्तरण विषयमा सहभागीले सुझाव दिएका थिए ।

पोखरा-लेखनाथ मनपा-१५ की जनप्रतिनिधि पार्वती कार्कीले स्थानीय तहमा महिला सशक्तिकरणको कुरा अगाडि बढाउनुपर्ने बताउँदै हरेक अधिकार सँगसँगै कर्तव्यको कुरा गर्न पनि आवश्यक रहेको बताइन् । जिल्ला जनस्वास्थ्य अधिकृत एकनारायण लम्सालले नेपालमा महिलाका पक्षमा बनेका कानुनलाई ब्यवहारिक रूपमा लागु गर्नको लागि छायाँ प्रतिवेदनका माध्यमबाट दबाव सृजना गर्न आवश्यक रहेको बताए ।

महिला तथा बालबालिका कार्यालय कास्कीकी प्रमुख लक्ष्मी जिसी कार्कीले महिला हिंसा विरूद्ध राजनीतिक प्रतिबद्धता हुनुपर्नेमा जोड दिँदै हिंसा न्यूनीकरणका लागी कुनै एक संस्थाको प्रयासले मात्र सम्भव नहुने हुँदा सम्पुर्ण निकाय जिम्मेवार हुन आवश्यक रहेको बताइन् ।

अन्य

भिडियो