तीन हप्ता भित्र भक्तपुरमा दुई बालिका र एक महिला बलात्कार घटनाबाट पीडित भएका छन् । महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार १६ वर्षीया बालिकालाई २०७४ माघ १९ गते दाङ जिल्ला बबई गाउँपालिका-३ हंसपुर घर भई हाल चाँगुनारायण नगरपालिका-९ ताथली बस्ने २० वर्षीय सुरेश घर्ती मगरले बलात्कार गरेको आरोपमा माघ २० गते गिरफ्तार गरिएको छ ।
पीडित पक्षले माघ २० गते उजुरी दिएको महानगरीय प्रहरी परिसर भक्तपुरका डीएसपी कृष्ण प्रसाइँले जानकारी दिए ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २० गते काठमाडौँको त्रिविवि शिक्षण अस्पतालमा भएको थियो ।
त्यस्तै पाँच वर्षीया बालिकालाई गत पुस ३० गते बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका-२२ बुङमती घर भई हाल भक्तपुर नगरपालिका-१० बस्ने १८ वर्षीय बसन्त तामाङलाई प्रहरीले माघ २१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाका अभिभावकले माघ २१ गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण माघ २१ गते काठमाडौँको त्रिविवि शिक्षण अस्पतालमा भयो ।
त्यस्तै ४५ वर्षीया महिलालाई माघ २० गते सुर्खेत जिल्ला गुर्बाकोट नगरपालिका-९ भुल्के घर भई हाल चाँगुनारायण नपा-८ श्री ईट्टा भट्टामा काम गर्ने ३८ वर्षीय कर्णबहादुर पुन मगरले बलात्कार गरेको आरोपमा प्रहरीले माघ २१ गते गिरफ्तार गरेको छ ।
पीडितले माघ २० गते महानगरीय प्रहरी परिसर भक्तपुरमा उजुरी दिए । पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २१ गते काठमाडौँको त्रिविवि शिक्षण अस्पतालमा भयो ।