INSEC Online

📅 २०८३ जेष्ठ २१

घरपरिवारले विष सेवन गराएपछि पीडित बनेकी महिला अस्पताल भर्ना

विष्णुपुर गापा-६ की ३२ वर्षीया बबीतादेवी साहलाई कुटपिट गरी उनका ३५ वर्षीय पति सीताराम साह, ५८ वर्षीय ससुरा रामसुन्दर साह र ५४ वर्षीया सासू भुलीदेवी साहले विष सेवन गराई हत्या प्रयास गरेपछि बेहोसी अवस्थामा रहेकी पीडितलाई उपचारार्थ राजविराजस्थित अञ्चल अस्पताल भर्ना गरिएको पीडित पक्षको आरोप छ ।

दोस्रो विवाह गर्ने धम्की दिँदै आएका पतिले कुटपिट गरेपछि सासू, ससुरासमेत मिली विष सेवन गराएको पीडितले बताइन् । उजुरीका लागि जिल्ला प्रहरी कार्यालय आएकी पीडित अचेत हुन थालेपछि प्रहरीले नजिकैको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गराएको छ ।

अस्पतालमा पीडितको उपचारपछि अवस्थामा सुधार आएको भन्दै आकस्मिक विभागका इञ्चार्ज अहेब धनेश्वर साहले केही दिन निरीक्षणका लागि अस्पतालमा राख्नु पर्ने बताए ।

आरोपितहरूले नाम नखुलेको विष सेवन गराएको भन्दै पीडितले लिखित बयान दिएपछि आरोपितमध्ये सासू भुलीदेवी र ससुरा रामसुन्दरलाई पुस ३० गते साँझ गिरफ्तार गरी अनुसन्धान थालिएको इन्स्पेक्टर सुजता तुमवाहाम्फेले बताइन् ।

सामाजिक परम्पराअनुसार ०६८ साल फागुन ११ गते विवाहिता पीडितका सन्तान छैनन् । विवाहको एक वर्षमा वैदेशिक रोजगारका लागि मलेशिया गएका आरोपित पति पाँच वर्षपछि घर फर्किएका थिए । पति विदेश गएपछि घरमा सासू, ससुराले खान लाउन नदिएको भन्दै पीडित माइत विस्थापित भएकी थिइन् ।

पीडितले असोज २१ गते जिल्ला प्रहरी कार्यालयमा आोपितहरूविरुद्ध उजुरी दिएपछि प्रहरीले दुवै पक्षलाई बोलाएर असोज २९ गते सहमति गराई घर पठाएको थियो ।

पीडित महिलाका बावु हरीनारायण साहले आरोपितलाई दाइजोस्वरूप बेल्ही चपेना गापा-४ स्थित दुई कठ्ठा जग्गा असोज २७ गते रजिष्ट्रेशन गरेपछि छोरीलाई आरोपितहरूले घर लगेको बताए ।

अन्य

भिडियो