INSEC Online

📅 २०८३ जेष्ठ २१

विदेश लैजाँदै गरिएका ६ महिलाको उद्धार

काठमाडौँबाट धादिङ हुँदै भारतको बाटोबाट साउदी अरब लान लागेको अवस्थामा धादिङ स्थित इलाका प्रहरी कार्यालय खानीखोलाले पुस २६ गते राति ६ जना महिलाको उद्धार गरेको छ ।

विदेश लैजाने सम्पर्क सुत्रको रूपमा काम गर्दै महिलाहरू लैजान लागेका तीन जनालाई प्रहरीले गिरफ्तार गरी उद्धार गरिएका र गिरफ्तार गरिएका गरी ९ जनालाई नै माइती नेपालमा बुझाएको छ ।

प्रहरीले दाङ जिल्ला घोराही उपमहानगरपालिका-१९ का ३५ वर्षीय प्रसाद विश्वकर्मा, इलाम जिल्ला इलाम नगरपालिका-३ की ३० वर्षीय सुमन पाँचकोटे र तेह्रथुम जिल्ला निवासी ३७ वर्षीया शर्मिलाकुमारी सङ्कटा साउदीअरबाट विदामा आएको र उनीहरूले नै सम्पर्क सुत्रको रूपमा उनीहरूलाई धार्केसम्म बोलाएको इलाका प्रहरी कार्यालय खानीखोलाका इन्स्पेक्टर जिवन निरौलाले बताए ।

साउदी अरबमा काम लगाइदिने भनेर एक आपसमा चिनजान नै नभएका महिलाहरूलाई धार्केसम्म बोलाएर बुटवलको लागि गाडी चढ्न लागेको बेला प्रहरीले गिरफ्तार गरेको माइती नेपालका पदम बस्नेतले टेलिफोनबाट जानकारी दिए ।

पुरूषलाई महिलाहरूले नचिनेको र छुट्टा छुट्टै गाडीमा धार्के आएर भेट भएपछि बुटवल हुँदै भारत जाने तयारी गरिरहेको अवस्थामा गिरफ्तार गरिएकोले घटना शङ्कास्पद रहेको भन्दै थप अनुसन्धान गर्न माइती नेपालले नौ जनालाई नै केन्द्रीय कार्यालय गौशाममा पठाइएको माइती नेपालका पदम बस्नेतले बताए ।

अन्य

भिडियो