एक महिला र उनका भाइलाई चिया बगानमा घुम्दै गरेका बेला नियन्त्रणमा लिएर नाङ्गेझार पारी भिडियो खिचेको अभियोगमा प्रहरीद्वारा पुस १३ गिरफ्तार दुई जना आरोपितलाई प्रहरीले पुस १५ गते सार्वजनिक गरेको छ ।
इलाका प्रहरी कार्यालय विर्तामोडले पत्रकार सम्मेलन गरी उनीहरूलाई सार्वजनिक गरेको हो । सार्वजनिक गरिएका आरोपितहरूमा १७ वर्षीय दुई जना बालक रहेका छन् । उनीहरूले पीडितका साथबाट १२ हजार रुपियाँ पनि लुटेको आरोप छ ।
पीडितद्वयलाई बुट्टाबारी चिया बगानमा घुमिरहेका दिदीभाइलाई खुकुरी देखाएर उनीहरूले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय विर्तामोडका डीएसपी कृष्णराज कोइरालाले बताए । घटनामा सामेल भएका तीन जनामध्ये एक जना फरार भएको प्रहरीले जनाएको छ ।
गिरफ्तारीमा परेका अभियुक्तले उनीहरूलाई नाङगै बनाएर भिडियो खिचेपछि १ लाख रुपियाँ नदिए सामाजिक सञ्जालमा पोष्ट गरिदिने धम्की दिएका थिए । एटीएमबाट निकालेर पैसा दिने बताएपछि आरोपितमध्येका एक जना पीडित युवकलाई लिएर बैङ्कतर्फगएका थिए ।
आरोपितलाई छक्याएर पीडित युवक भागेर इलाका प्रहरी कार्यालय विर्तामोडमा पुगेपछि अरू दुई जना गिरफ्तारीमा परेका हुन् । चिया बगानमा महिलालाई नाङ्गो अवस्थामा फेला पारी प्रहरीले उद्धार गरेको थियो । पीडितलाई बैङ्क लिएर जाने आरोपितमध्येका एक जना युवक फरार रहेको प्रहरीले जनाएको छ ।