पाल्पा सचेतना र सावधानीको अभावमा डेङ्गी सङ्क्रमण बढ्दो रुपमा रहेको छ । सन् २०२५ को यस अवधिमा पाल्पामा २ सय ५५ जनामा डेङ्गी सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख टुकप्रसाद पोखरेलले बताउनु भयो ।
साउन र भदौ महिनामा डेङ्गीका बिरामीको सङ्ख्या बढ्दै गएको पाइएको छ । जिल्लामा रामपुर र पाल्पा अस्पतालसँगै युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेजमा परीक्षण गराउने बिरामीको सङ्ख्या धेरै देखिएको छ । सङ्क्रमित हुनेमध्ये १ सय ८५ जना पाल्पा भित्रका रहेका छन् । यो बाहेक बाहिरी जिल्लाबाट उपचार गराउन आउनेमा पनि संङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । डेङ्गी नियन्त्रणका लागि विभिन्न अभियान सञ्चालन हुँदा पनि सङ्क्रमणमा कमी नआएको पोखरेलले बताउनुभयो ।
पाल्पा लुम्बिनी प्रदेशमै डेङ्गीका बिरामी सबैभन्दा धेरै हुने जिल्ला भएको छ । जलवायु परिवर्तन र परीक्षणको दायरामा वृद्धि हुँदा सङ्क्रमित बिरामिको सङ्ख्या बढेको हो । पछिल््लो तथ्याङ्क अनुसार रूपन्देही जिल्लामा ८६ जना, दाङ जिल्लामा ६८, गुल्मीमा ५३, बाँकेमा ३४ जना डेङ्गीका सङ्क्रमित बिरामी छन् । यस्तै अर्घाखाँचीमा ३० जना, बर्दिया र प्युठानमा १२/१२ जना, रोल्पामा नौ र रुकुममा तीन जना डेङ्गी सङ्क्रमित बिरामी रहेका छन् ।
पाल्पामा अघिल्लो वर्ष ४ सय ६४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको थियो ।