जिल्ला सदरमुकाम खाँडाचक्र जिरोप्वाइन्ट, जिल्ला प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालय हुँदै प्रतिमा चोक आसपासका क्षेत्रमा पुस ९ गते बिहान १० बजेदेखि स्थानीय प्रशासनले पुनः कर्फ्यू जारी गरेको छ ।

पुस ८ गतेदेखि लगाइएको अनिश्चितकालिन कर्फ्यू पुस ९ गते बिहान दुई घण्टाका लागि हटाइए पनि स्थानीय प्रशासनले पुनः निरन्तरता दिएको हो ।
पुस ९ गते बिहान ८ बजेदेखि १० बजेसम्मका लागि खुलाइएको कर्फ्यू १० बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि पुनः निरन्तरता दिइएको कालिकोटका प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैरेले बताए ।

आफूले पाउने तलब सुविधा कटौती भएको भन्दै म्यादी प्रहरीले पुस ७ गते जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका थिए । यस क्रममा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी विवेक ऐडीको मृत्यु भएको थियो । त्यसपछि कालिकोट सदरमुकाममा तनाव बढ्दै आएको छ ।

मृतकका आफन्त र स्थानीयबासीको प्रदर्शनका कारण स्थिति तनावग्रस्त बनेपछि जिल्ला प्रशासनले कर्फ्यू लगाउनुपरेको जनाएको छ । गृह मन्त्रालयका सहसचिव मानबहादुर जिसीको संयोजकत्वमा गठित छानबिन समिति पुस ९ गते कालिकोट पुगेर छानबिन सुरू गर्ने प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।