पाल्पाको निस्दी गाउँपालिका बालमैत्री घोषणाको तयारी भइरहेको छ, तर बालविवाहको समस्या अझै कायम छ। गाउँपालिकाले बालबालिका र समुदायको समग्र विकासका लागि विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ।
गाउँपालिकाले २०८३ को चैत महिनासम्म निस्दीलाई बालमैत्री गाउँपालिका घोषणा गर्ने लक्ष्य राखेको छ। यसका लागि गाउँपालिकाले बालविवाह रोकथामका लागि बालविवाह सामूहिक रुपमा बहिष्कार गर्ने, बालविवाह न्यूनिकरणमा हाम्रो भूमिका विषयमा अधारभूत तथा माध्यमिक तहमा वक्तृत्वकला प्रतियोगिता, सडक नाटक प्रदर्शन, आधारभूत र माध्यमिक विद्यालयमा पुगेर विद्यार्थीहरुसँग बालविवाह नगर्ने प्रतिवद्धता सहित हस्ताक्षर सङ्कलन लगायतका समुदायस्तरमा जनचेतना कार्यक्रम सञ्चालन गरेको छ। बालक्लवहरूलाई सक्रिय बनाइएको, २५ वटा विद्यालयमा अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गरिसकेको बालकल्याण अधिकृत कुश्माखर पाण्डेले बतउनु भयो ।
यद्यपि, निस्दीमा अझै पनि बालविवाहको घटनाहरु भइरहेका छन्। वि.सं. २०७९ मा २ सय ७६ जोडीले बालविवाह गरे भने, २०८० मा त्यो संख्या ५२ र २०८१ साउनदेखि अहिलेसम्म आठ जोडीले बालविवाह गरेको पाण्डेले बताउनु भयो।
नेपालको कानुनले १८ वर्ष मुनिको विवाहलाई बालविवाह मानिन्छ र कानुनी रूपमा २० वर्षपछि मात्र विवाह गर्न सकिन्छ। त्यसैले गाउँपालिका, प्रहरी प्रशासन, मानव अधिकारकर्मी, स्थानीय बालक्लवहरु र स्थानीय समुदाय मिलेर सडक नाटक, गीत प्रतियोगिता, वक्तृत्वकला र हस्ताक्षर अभियान जस्ता कार्यक्रम सञ्चालन गरिएको छ।
बालविवाह रोक्नका लागि विद्यालय, अभिभावक र समुदायलाई सचेत गराउँदै आएको छ। बालक्लवहरू सक्रिय बनाइएका छन् र स्वास्थ्य, सरसफाई जस्ता विषयमा पनि काम भइरहेको छ। गाउँपालिकाले बालमैत्री कार्यक्रमहरु सञ्चालन गर्नको लागि २० लाख रुपियाँ विनियोजन गरेको छ।
बालविवाहले पढाइमा बाधा, स्वास्थ्यमा असर र लैंगिक हिंसाका घटना बढ्ने भएकाले यसलाई रोक्न सामाजिक र कानुनी प्रयास आवश्यक रहेको बालकल्याण अधिकृत कुश्माखर पाण्डेले बतउनु भयो ।