INSEC Online

📅 २०८३ जेष्ठ २१

डम्पिङ साइट व्यवस्थित गर्नुपर्ने भन्दै स्थानीय आन्दोलित

वीरेन्द्रनगर नगरपालिका–१ का स्थानीयहरुले डम्पिङ साइट व्यवस्थित गनुपर्ने भन्दै ०८२ जेठ १७ गतेदेखि सडक अवरुद्ध गरेर आन्दोलन गरिरहेका छन् । वीरेन्द्रनगर नगरपालिकाका-१२ वटै वडाको फोहर सोही वडाको बतासे डाँडामा अव्यवस्थित रुपमा जलाउने गरिएको छ । सोही फोहरका कारण बस्ती दुर्गन्धित हुँदै आएकोले आन्दोलन गर्नुपरेको बतासे डाँडा फाेहर व्यवस्थापन आन्दाेलन समितिका संयाेजक बलभद्र पुरीले बताउनु भयाे । उहाँले भन्नुभयाे । ‘विगतदेखि नै नगरपालिकाले फाेहर व्यवस्थापनमा लापरबाही गर्दा हाम्राे बस्ती नै दुषित भइरहेकाे छ । पटक-पटक ध्यानाकर्षण गराउँदा समेत सुनुवाइ भएन’ ।  जबसम्म यसकाे दिर्घकालिक समाधान हुँदैन, तबसम्म यहाँ फाेहाेर फाल्न दिँदैनौं ’ उहाँका अनुसार बतासे डाँडा जाने मुख्य सडकमा ढुङ्गा र काठ राखेर आन्दोलन गर्दै स्थानीयले फाेहरका गाडीहरुलाई  अवरोध गरिरहेका छन् ।
Photo 2025-06-03 Surkhet (3)
वीरेन्द्रनगर नगरपालिका–१ स्थित बतासे डाँडा श्रीकृष्ण सामुदायिक वनभित्र पर्छ, जसको नजिकै बराहताल गाउँपालिका–१० छ। यतिबेला यी दुवै क्षेत्र डम्पिङ साइटको प्रत्यक्ष प्रभावमा परेका छन्। नगरभित्र उत्पादन हुने फोहर यहीँ असुरक्षित रूपमा बिसर्जन गरिन्छ, जसले गर्दा वीरेन्द्रनगर–१ र २ साथै बराहताल गाउँपालिका–१० मा बसोबास गर्ने समुदायमाथि गम्भीर असर परेको छ। फोहर व्यवस्थापनका लागि नगरपालिकाले दुई जना कर्मचारी खटाएको छ, तर व्यवस्थापन विधि भने अत्यन्तै जोखिमपूर्ण छ–थुपारिएका फोहरमा सिधै आगो लगाइन्छ। यसले आसपासका बस्तीमा प्रदूषण फैलिरहेको छ। ‘सबै फोहर एकै ठाउँमा फाल्छन्, त्यसैमा आगो लगाइदिन्छन्। त्यो धुवाँ बस्तीसम्म पुग्छ,’ स्थानीय  टेकबहादुर विकले भन्नुभयाे । ‘धुवाँको उकुसमुकुसले सास फेर्नै सकिदैन। हाम्रो स्वास्थ्यमा प्रत्यक्ष असर पारेको छ।’
Photo 2025-06-03 Surkhet (1)
एक अध्ययनअनुसार वीरेन्द्रनगरमा दैनिक १२ टनसम्म फोहोर उत्पादन हुन्छ। २०७३ सालदेखि नगरपालिकाले बतासे डाँडालाई डम्पिङ साइटका रूपमा प्रयोग गर्दै आएको हो। बस्तीको छेउछाउमै डङ्गुरजस्तो फोहोर थुप्रिँदा वीरेन्द्रनगर–१ का धारापानी र बाङ्गेसिमल साथै बराहताल गाउँपालिका–१० को सिमलचौरजस्ता बस्तीहरू प्रभावित भएका छन्। फोहर व्यवस्थापनको नाममा स्थानीय बासिन्दा धुवाँ, दुर्गन्ध र रोगको सास्ती झेलिरहेका छन् ।  दीर्घकालीन समाधानको उपाय नखाेजे निरन्तर आन्दोलनमा उत्रिने स्थानीयकाे चेतावनी छ। यता वीरेन्द्रनगर नगरपालिकाकी प्रमुख माेहनमाया ढकालले बिना जानकारी नगरकाे फाेहाेर किन अवरुद्ध गरेकाे भन्ने खाेजी गरिरहेकाे बताउनुभयाे ।  ‘कुनै ज्ञापनपत्र बिना, कुनै जानकारी बिना यति ठूलाे नगरकाे फाेहर कसले, किन राेक्याे । हामीलाई जानकारी छैन,’ उहाँले भन्नुभयाे।
Photo 2025-06-03 Surkhet (2)

अन्य

भिडियो