बनगाड कुपिण्डे नगरपालिका–१२, निगालचुलामा किराको प्रकोपले आलु नष्ट हुँदा किसानहरू चिन्तित भएका छन् । आलु बेचेर नै जीविकोपार्जन गर्दै आएका किसानले १७ हेक्टर जग्गामा लगाएको बर्खे आलुमा किराको प्रकोप देखिएको हो । बर्खे आलुमा किराको प्रकोप देखिएपछि निगालचुलाका ६८ किसान परिवार प्रभावित भएका छन् । बर्खे आलुबाट वार्षिक २ करोड भन्दा बढी भित्र्याउँदै आएका किसान यसपटक किराको कारण मारमा परेका छन् ।
झुसिलकिराको लार्भा जस्तो देखिने किराले आफ्नो सात रोपनी जग्गामा लगाएको आलुका पात, कलिला डाँठ खाएर सखाप पारेको र बोट सुक्न थालेको किसान जीतबहादुर ओलीले बताउनु भयो । सुरुसुरुमा दुई/चार ओटा बोटमा देखिँदा खासै मतलव नगरेको र अहिले सबैजसो बोट किराले खाएको उहाँले जानकारी दिनुभयो । ‘यो भन्दा अघि यस्तो किराको प्रकोप देखिएको थिएन । फेँद कटुवा किराले अलि अलि क्षति पुग्थ्यो । जैविक विषादी प्रयोग गर्दा ठिक हुन्थ्यो । अहिले विषादी प्रयोग गर्दा पनि किरा हराएको छैन । बर्खे आलु उत्पादन गरी आम्दानी भएको रकमले घर खर्च चल्थ्यो । धेरैजसो बोट सखाप भइसकेकाले कसरी घर खर्च चलाउने भन्ने चिन्ताले सताउन थालेको छ’ – उहाँले भन्नुभयो ।
झन्डै एक महिना यता किसानले लगाएको आलुबालीमा किराको प्रकोप देखिएको र धेरै जसो सखाप पारेको बनगाड कुपिण्डे नगरपालिका–१२ का वडाध्यक्ष लालबहादुर घर्तीले बताउनु भयो । ‘प्रत्येक किसानले बर्खे आलु लगाएर वार्षिक ४ देखि ५ लाखसम्म कमाउँदै आएका थिए । यसबाटै धेरै परिवारको रोजिरोटी चलेको थियो । किराले कलिलो मुन्टा, पात खादा बोट सुक्दै गएका छन् । किराले आलु सखाप बनाउन थालेपछि उत्पादन धेरै घट्ने मात्र नभइ किसानले आलु लगाएको खर्चसमेत नउठ्ने देखिएको छ’ – वडाअध्यक्ष घर्तीले भन्नुभयो ।
बनगाड कुपिण्डे नगरपालिकाका कृषि शाखा प्रमुख नारायण बेल्बासेले बर्खे आलुमा देखिएको किराको प्रकोपका कारण किसान समस्यामा परेका र किसानले १७ हेक्टरमा लगाएको मध्ये झन्डै ४ सय रोपनीमा पूर्ण रूपमा क्षति पुर्याएको बताउनु भयो । उहाँका अनुसार किराले आलुका कलिलो मुन्टा, पात खाएका छन् ।
‘विशेष गरेर आलु भण्डारणका बेला पुतली किराको प्रकोप देखिने गर्छ । किसानले ध्यान नदिएर किरा लागेको आलुको बिउ लगाउँदा लार्भाबाट वयस्कमा परिणत भइ सो वयस्कले आलु बालीको पातमा फूल पार्दा किराको प्रकोप फैलिएको हुनसक्छ’ – उहाँले भन्नुभयो ।
