जिल्ला अस्पताल हुम्लामा आइसियु सेवा नभएपछि गर्भवती महिलालाई जिल्ला बाहिर रिफर गर्नुपर्ने बाध्यता रहेको छ । सात ओटा गाउँपालिका रहेको हुम्ला जिल्ला भूगोलका हिसावले निकै कठिनाइ पनि छ । जसका कारण गर्भवती महिलाहरूलाई सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा पर्याउनका लागि एक/दुई दिन लाग्ने गर्दछ ।
पहिले गाउँमा रहेका स्वास्थ्य संस्थाहरूमा लगिन्छ । तर त्याहाँ सफल नभएपछि गाउँपालिका स्वास्थ्य शाखासम्म पुर्याउँछन् । त्यहाँ पनि सुरक्षित बर्थिङ सेन्टर नभएकै कारण गाउँपालिका स्वास्थ्य शाखा वा स्वास्थ्य संस्थाले सदरमुकाम सिमकोटको जिल्ला अस्पतालमा रिफर गर्ने प्रविधि छ । जिल्लाको दक्षिण भेगमा पर्ने चंखेली गाउँपालिका–६, चरी गाउँकी १८ वर्षिया धनशिला बुढाको जेठ ६ गते जिल्ला अस्पताल हुम्लामा उपचार हुन नसकेपछि जिल्ला बाहिर प्रादेशिक अस्पताल कालागाउँ सुर्खेतमा पठाउनु पर्ने बाध्यता भयो । यो एउटा प्रतिनिधि पात्र मात्रै हो । हुम्लामा अधिकांश सामान्य बिरामीलाई पनि जिल्ला बाहिर लैजानु पर्ने बाध्यता छ ।
सात महिनाको गर्भवती बुढालाई एक हप्तादेखि स्वास्थ्यमा गढबढी भएपछि आफन्तले गाउँमा रहेको मेल्छाम स्वास्थ्य चौकीमा लगेका थिए । मेल्छाम स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि गाउँपालिका केन्द्र रहेको पिप्लाङ स्वास्थ्य चौकीमा रिफर गरियो । तर त्यहाँ पनि उपचार हुन नसकेको भन्दै सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा रिफर गरिएको बुढाका पति हर्कधन सिराले जानकारी दिनुभयो । पति सिराका अनुसार जिल्ला अस्पताल हुम्लामा जेठ ४ गतेदेखि भर्ना गरियो । तर उपचार हुन नसकेपछि जेठ ६ गते जिल्ला बाहिर लग्नु पर्ने बाध्यता भयो । जिल्ला अस्पतालमा उपचारका क्रममा पत्नीको शरीरमा विविराहरू उठ्ने, बेलाबेलामा व्यहोस् हुने र रगतको मात्रा कमी, ज्वरो लगायतका समस्याले जिल्ला अस्पतालले रिफर गरेको सिराको भनाइ छ ।
जिल्ला अस्पताल हुम्लामा आइसियु (विशेष उपचार कक्ष) सेवा नभएकाले जिल्लामा उपचार हुन नसक्ने अवस्था भएपछि जिल्ला बाहिर रिफर गर्नु पर्ने बाध्यता भएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रतिक्षा भारतीले बताउनु भयो । उहाँका अनुसार गर्भवती महिलाको सुत्केरी हुने समय नभएकै महिलाको धड्कन लगायतको समस्याका कारण जिल्ला बाहिर पठाउनु पर्ने बाध्यता रहेको छ । जिल्ला अस्पतालमा उक्त बिरामको औषधी समेत नभएका कारण रिफर गरिएको प्रमुख भारीतको भनाइ छ । हुम्लामा सुविधा सम्पन्न अस्पताल नहुनु, समयमै औषधी उपकरण, सम्बन्धित बिराम सम्बन्धि विशेषज्ञ डाक्टर नहुँदा पनि सामान्य बिरामका लागि जिल्ला बाहिर रिफर हुनु परेको सेवाग्राहीको भनाइ छ । बुढालाई राष्ट्रिपति महिला उत्थान कार्यक्रमबाट जिल्ला बाहिर उद्धार गरिएको छ ।