INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रिय परिचय–पत्र बनाउनै स्थानीयलाई सास्ती !

जनशक्ति अभावका कारण जिल्लामा राष्ट्रिय परिचय–पत्र बनाउनै स्थानीयहरुले सास्ती खेप्नुपरेको छ ।

राष्ट्रिय परिचय–पत्र बनाउन स्थानीयहरु जिल्लाका दुर्गमबस्तीबाट जिल्ला प्रशासन कार्यालयमा आउने गरेको भए पनि जनशक्ति अभावका कारण दिनभरी लाइनमा घुइँचो लागेर पालो कुर्नु पर्ने बाध्यता रहेको स्थानीय सेवाग्राहीहरुको गुनासो छ ।

राष्ट्रिय परिचय–पत्र फाँटमा दुई जना मात्रै कर्मचारी कार्यरत छन् । परिचय–पत्र बनाउन हरेक दिन सयौँ सेवाग्राही जिल्ला प्रशासन कार्यालय, डडेल्धुराको राष्ट्रिय परिचय–पत्र फाँटको अगाडि दिनभरी लाइनमा बस्न बाध्य छन् । राष्ट्रिय परिचय–पत्रको सम्पूर्ण काम अनलाइनबाट गर्नु पर्ने तर कर्मचारी अभावले सस्ती खेप्नुपरको स्थानीयको आरोप छ ।

राष्ट्रिय परिचय–पत्र बनाउन जिल्ला प्रशासन कार्यालय, डडेल्धुरामा आएको भए पनि समय अभावका कारण थप एक दिन जिल्ला सदरमुकाममा बास बस्नु पर्ने बाध्यता सिर्जना भइरहेको बेलापुरका सेवाग्राही रामबहादुर बिष्टले दुखेसो पोख्नु भयो ।

photo20250521dadeldhura

०७७ भदौ २२ गते राष्ट्रिय परिचय–पत्र बनाउने कामको सुरुवात भएको हो । जिल्ला प्रशासन कार्यालय, डडेल्धुराका नायब सुब्बा चन्द्रबहादुर रोकायले भन्नुभयो, ‘एउटा मात्रै स्टेशन भएका कारण भीड लाग्ने गरेको छ । अर्को स्टेशन थप्न पाए सहज हुने थिया ।’

राष्ट्रिय परिचय–पत्र बनाउनका लागि राष्ट्रिय टोली खटिएको बेला झण्डै ६३ हजार ४ सय ६ जनाले फारम भरेकोमा ५९ हजार ९ सय ४७ जनाले मात्रै परिचय–पत्र प्राप्त गर्नुभएको र बाँकीलाई परिचय–पत्र उपलब्ध गराउन नसकिएको जिल्ला प्रशासन कार्यालय, डडेल्धुराका नायब सुब्बा रोकायले बताउनु भयो ।

पछिल्लो समय १५ हजार भन्दा बढीको तथ्याङ्क सङ्कलन भएको र ९ हजार ५ सय ५६ जनाको परिचय–पत्र जिल्ला प्रशासन कार्यालयमा आइपुगेको उहाँले बताउनु भयो ।

अन्य

भिडियो