INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपितहरूविरुद्ध उजुरी

जनकपुरधाम उपमहानगरपालिका-१३ पिरारी की १८ वर्षीया ज्योति शाहको हत्या गरेको आरोपमा मृतककी माइती पक्षले निजका पति २४ वर्षीय कृष्णकुमार शाह, सासु ४० वर्षीया रौली देवी शाह, देवर २२ वर्षीय नारायण कुमार शाह, ससुरा ३९ वर्षीय रामचन्द्र शाहविरुद्ध ०८२ वैशाख २२ गते जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ ।

मृतकका दाजु महोत्तरी जिल्लाको पिपरा गाउँपालिका-६ रतौलीका चन्दन कुमार शाहका अनुसार आफूहरूलाई वैशाख २० गते ३ः० बजेको समयमा बहिनीको हत्या भएको जानकारी भएको लगत्तै उनको घरमा पुग्दा आरोपितहरूले बहिनीलाई अस्पताल लगिसकेका थिए । बहिनीको विवाह ०८१ मङ्सिर १७ गते आरोपित कृष्णकुमार शाहसँग समाजिक परम्परा अनुसार भएको थियो । विवाहमा दाइजो स्वरुपमा एक थान मोटरसाइकल दुई वर्ष भित्र दिने कुरा भएको । तर, मोटरसाइल नदिएको भन्दै आरोपित शाहले आठ महिनामै बहिनीको हत्या गरेको दाजुले बताउनु भयो । विवाह भएदेखि नै मोटरसाइकलको लागि बहिनीलाई कुटपिट गरी शारीरिक तथा मानसिक यातना दिदैँ आएको दाजुले बताउनु भयो । मृतक चार महिनाको गर्भवती पनि थिइन् र आरोपितहरूले उनको हत्या गरी घटनालाई ढाकछोप गर्न पासोमा झुन्ड्याएका, उहाँले भन्नु भयो ।

शवको पोष्टमार्टम वैशाख २१ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो ।

आरोपित पतिलाई घटना भएकै दिन गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी बरुणबहादुर सिंहले जानकारी दिनुभयो । हामी कहाँ हत्याको विषयमा चार जना माथि उजुरी आएको छ बताउनुहुँदै पोष्टमार्टम रिपोर्टको आधारमा उजुरी दर्ता गरी घटनामा संलग्न दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्ने डिएसपी सिंहले भन्नु भयो ।

अन्य

भिडियो