पाल्पा जिल्ला रैनादेवी गाउँपालिका–४, छहरा स्थायी घरभइ बुटवल उपमहानपा–११, बुद्धनगरमा डायक्सन फुड एण्ड वेकरेज हव सञ्चालन गर्दै आउनुभएकी २९ वर्षीया टीका विष्ट क्षेत्रीमाथि वैशाख ६ गते गोली प्रहार भएको छ ।
गोली प्रहारबाट टीकाको ढाडमा गोली लागेको छ । घाइते क्षेत्रीको लुम्बिनी प्रादेशिक अस्पतालमा प्रारम्भिक उपचारपछि गोली निकाल्न नसकेपछि थप उपचारका लागि भैरहवा मेडिकल कलेजमा रेफर गरिएको थियो । भैरहवा मेडिकल कलेजमा पनि उपचार हुन नसकेपछि थप उपचारका लागि सिएमसी अस्पताल, भरतपुरमा रेफर गरिएको छ । वैशाख ६ गते विहान आफ्नै खाजा पसलमा सरसफाई गर्दै गर्दा भारतीय नम्बर प्लेट भएको मोटर साइकलमा आएका एक युवकले क्षेत्रीमाथि गोली प्रहार गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयका डिएसपी सुरज कार्कीले गोली प्रहार गर्ने ती युवा भारतीय नागरिक सितारे आलम अन्सारी भएको र उनको ठेगाना खुल्न नसकेकोले थप अनुसन्धान भइरहेको बताउनु भयो । स्थानीयका अनुसार केही दिन अगाडि ती युवा र क्षेत्रीबिच भनाभन समेत भएको थियो । आरोपित युवकले पीडित क्षेत्रीलाई प्रेम प्रस्ताव राखेको र क्षेत्रीले प्रेम प्रस्ताव अस्वीकार गरेपछि गोली प्रहार गरेको डिएसपी कार्कीले जानकारी दिनुभयो ।
घटनापछि आरोपित भारततिर भाग्न सक्ने भएकोले सीमा नाकामा कडाई गरी खोजी कार्य भइरहेको डिएसपी कार्कीले बताउनु भयो ।