ताप्लेजुङको पाथीभरा क्षेत्रमा निर्माणाधीन केवलकारको विषयलाई लिएर आन्दोलनका क्रममा गिरफ्तार गरिएका १८ जना रिहा भएका छन् ।
फुङलिङ नगरपालिका-५ स्थित वीरेन्द्र चोकमा ०८१ फागुन १० गते नो केवलकार पक्षका कार्यकर्ता र प्रहरीबिच भएको थियो ।
झडपको क्रममा गिरफ्तारीमा परेका १८ जना ०८१ चैत ७ गते जनही २० हजार रुपियाँ धरौटीमा रिहा भएका हुन् ।
जिल्ला अदालतका न्यायाधीश विकास श्रेष्ठको चैत ७ गतेको आदेशले जनही १८ हजार रुपियाँ धरौटी माग गरेको थियो । सोही आदेश बमोजिम गिरफ्तारीमा परेका सबैले चैत ७ गते धरौटी बुझाएर रिहा भएको अदालतका सूचनाका अधिकारी विष्णु राईले बताउनु भयो ।
रिहा हुनेमा ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका-१ का ४५ वर्षीय नवीन पोमू, फक्ताङलुङ गाउँपालिका-५ का ३७ वर्षीय सुवास तुम्बाहाङफे, पाँचथर जिल्ला याङवरक गाउँपालिका-२ की ४३ वर्षीया इन्दिरा धौराली, फिदिम नगरपालिका-११ का २२ वर्षीय एमन राई, फालेलुङ, गाउँपालिका-८ स्थायी घर भइ हाल फिदिम नगरपालिका-१ मा बस्दै आएकी ४० वर्षीया सुनिता केरुङ छन् ।
हिलिहाङ गाउँपालिका-६ घर भई हाल झापाको अर्जुनधारा नगरपालिका-११ मा बस्दै आएका ४८ वर्षीय मित्र लिङदेन र मिक्लाजुङ गाउँपालिका-५ स्थयाी घर भई इलाम नगरपालिका-७ मा बस्दै आएका ५१ वर्षीय योगेन्द्र लावती धरौटी बुझाएर रिहा भएका छन् ।
तेहृथुम जिल्ला, आठराई गाउँपालिका-७ स्थायी घर भई हाल जिल्ला झापा अर्जुनधारा नगरपालिका-११ मा बस्दै आएकी ३० वर्षीया दीक्षा क्षेत्री, शिवसतासी नगरपालिका-२ स्थायी घर भई बिर्तामोड नगरपालिका-२ मा बस्दै आएकी २० वर्षीया ईक्सा लिम्बू, अर्जुनधारा नगरपालिका-४ की २१ वर्षीया निहा चेम्जोङ जनही २० हजार रुपियाँ धरौटी बुझाएर रिहा भएका छन् ।
सुनसरी, इटहरी उपमहानगरपालिका-३ का २३ वर्षीय विवेक लिम्बू, सोही ठाउँका-१९ वर्षीय जुरन राई, इटहरी उपमहानगरपालिका-२ का ३२ वर्षीय अर्जुन भनिने वीर्खबहादुर तामाङ, इटहरी उपमहानगरपालिका-२० का ३२ वर्षीय अनुप सुब्बा, र इटहरी उपमहानगरपालिका-१० का १९ वर्षीय विशेष सुब्बा, मोरङ, ग्रामथान गाउँपालिका-६ स्थायी घर भई हाल सुन्दरहरैँचा नगरपालिका-१० बस्दै आएका ५८ वर्षीय तुलाराम तामाङ र उर्लाबारी नगरपालिका-१ का ३९ वर्षीय हरि लिम्बूलाई धरौटीमा रिहा गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आपराधिक उपद्रव र हुलदङ्गा गर्ने आरोपमा ताप्लेजुङका दुई जनासहित विभिन्न जिल्लाका आन्दोलनरत पक्षका व्यक्तिहरूलाई गिरफ्तार गरेको थियो ।
नो केवलकार पक्ष र प्रहरीबिच ०८१ फागुन १० गते वीरेन्द्र चोकमा झडप भएको थियो । सो झडपमा संलग्न १८ जनालाई प्रहरीले गिरफ्तार गरेको थियो ।