जिल्ला सुरक्षा समितिको मङ्सिर ११ गते बसेको बैठकले जिल्लाका चार ओटै निर्वाचन क्षेत्रका २ सय ५८ मतदान स्थलका ४ सय २६ ओटै मतदान केन्द्र अति सम्वेदनशील रहेको निर्णय गरेको छ ।
महोत्तरीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठले महोत्तरीका सबै मतदानस्थल सम्वेदनशील रहेको र सबै मतदाता तथा उम्मेदवारको सुरक्षा पहिलो प्राथमिकता भएको बताए । उनले मतदाताको सुरक्षामा कुनै सम्झौता नगर्ने पनि प्रष्ट पारे ।
उनले केन्द्रीय नीति र आन्तरिक तयारीका हिसाबले आवश्यक परेको स्थानमा थप सुरक्षा बन्दोबस्त हुने भएकाले मतदानमा कुनै बाधा नहुने बताए । उनले मतदाता निर्धक्क भई मतदानस्थल तथा मतदान केन्द्रमा आएर मतदान गर्न सक्ने वातावरण र सोही अनुरूपको सुरक्षा बन्दोवस्त गरिसकेको बताए ।
पहिलो चरणमा सम्पन्न प्रतिनिधि तथा प्रदेश सभा सदस्यको निर्वाचनको अवस्था र महोत्तरीमा भइरहेको बम विष्फोटनको घटनालाई मध्यनजर गरी सबै क्षेत्रलाई अति सम्वेदनशीलको सूचीमा राखी सोही अनुरूप सुरक्षा व्यवस्था मिलाइने समितिको बैठकले निर्णय गरेको छ ।
महोत्तरीको करिब ३९ किलोमिटर सीमा भारतसँग जोडिएको छ । खुला सिमाना भएकाले भारतीय भूमिबाट हतियार तथा ‘अपराधि’ भित्रिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सीमामा नेपाल र भारतका सुरक्षाकर्मीले दैनिकजसो संयुक्त गस्ती गर्ने, भारतबाट आउने तथा नेपालभित्रै पनि शङ्का लागेका सवारीसाधन, व्यक्तिमाथि सघन जाँच गरिने समितिले निर्णय गरेको छ ।
यसअघि भारतको सितामढीमा भएको संयुक्त सीमा सुरक्षा बैठकको निर्णयलाई पूर्ण कार्यान्वयन गर्ने सुरक्षा समितिको भनाई छ ।
निर्वाचन मिति नजिकिएसँगै विभिन्न स्थानमा सुरक्षाकर्मीको उपस्थिति पनि बाक्लो बनाइएको छ । तीन घेरामा रहने सुरक्षाकर्मीको भित्री घेरामा २ हजार ७ सय ५१ म्यादी र १ हजार ५ सय १९ प्रहरी परिचालित हुने जिल्ला सुरक्षा समितिले जनाएको छ ।
यस्तै मतदानस्थलको सुरक्षाका लागि बाहिरी घेरामा १ हजार ५ सय सशस्त्र प्रहरी तैनाथ रहने सुरक्षा स्रोतको भनाई छ । नेपाली सेनाले निरन्तर गस्ती गर्ने जनाइएको छ ।
महोत्तरीमा १० नगरपालिका र पाँच गाउँपालिकामा १ सय ३८ वडा छन् । प्रतिनिधि सभाको निर्वाचनका लागि क्षेत्र नम्बर १ मा ३० वडा, क्षेत्र नम्बर २ मा ३६ वडा, क्षेत्र नम्बर ३ मा ३५ वडा र क्षेत्र नम्बर ४ मा ३७ वडा छन् ।