मङ्सिर १० गतेको पहिलो चरणको निर्वाचन अन्तर्गत रूकुम (पश्चिम) का दुई मतदान केन्द्रको मतदान स्थगित भएको छ ।
आठविसकोट नगरपालिका-११ स्थित नेपाल राष्ट्रिय मावि गत्तसैना मतदान केन्द्रमा नेपाली काङ्ग्रेसका कार्यकर्ता केशव खड्काले ३ सय ३ मत खसिसकेको अवस्थामा समानुपातिकतर्फको मतपेटिकामा एसिड खन्याएर मतपेटिका जलेपछि सो केन्द्रको समानुपातिक तर्फको मतदान स्थगित गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
त्यस्तै बाँफिकोट गाउँपालिका -५ को रत्न मावि काँडा मतदान केन्द्रको प्रदेशसभाको प्रत्यक्ष तर्फको मतपेटिकामा आगो लागेपछि सो केन्द्र प्रदेशसभाको प्रत्यक्ष मात्र स्थगित गरिएको सहायक निर्वाचन अधिकृत तेजप्रसाद पौडेलले बताए ।
यी दुई केन्द्रको पुनःमतदान कहिले हुने भन्ने विषयमा निर्वाचन आयोगले निर्णय गरेअनुसार हुने उनले जानकारी दिए ।
त्यस्तै आठविसकोट नगरपालिका अन्तर्गत हिमालय मावि स्यालाखदी मतदान केन्द्रमा एसिड खन्याउन तयारी गरेका व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएपछि घटना हुन नपाएको जनाइएको छ ।
एसिड खन्याउने आठविसकोटका केशव, बाँफिकोटबाट एकजना र स्यालाखदीबाट एकजना गरी तीन जनालाई प्रहरीले गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय रूकुम (पश्चिम) का डिएसपी राजेन्द्रप्रसाद धमलाले बताए ।
आठविसकोटमा केशव खड्कालाई नियन्त्रणमा लिन प्रहरीले २ राउण्ड हवाई फायर समेत गरेको थियो । बिहान मतदान सुरू भएको केही समयमा आठविसकोट नगरपालिकाको वडा नम्बर ६ र ७ नजिकै बम विष्फोटसमेत भएको बताइएको छ ।