INSEC Online

📅 २०८३ जेष्ठ २१

केवलकार निर्माण विवाद : फुङ्लिङमा अनिश्चितकालीन निषेध आदेश जारी

ताप्लेजुङको फुङ्लिङमा फागुन ११ गतेदेखि अनिश्चितकालीन निषेध आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै बिहान ५ बजेदेखि अर्को आदेश नभएसम्मको लागि फुङलिङ नगरपालिका बजार क्षेत्र र काफ्लेपाटी-बल्लुडाँडा क्षेत्रको चारकिल्ला तोकी निषेध आदेश जारी गरिएको जनाएको छ ।
विज्ञप्तिअनुसार फुङलिङ नगरपालिका बजार क्षेत्रमा हुन सक्ने प्रदर्शन, जुलुस र स्थानीय स्तरमा हुलदङ्गा, झडप साथै प्रतिकूल स्थितिको सृजना भई शान्ति सुरक्षा भङ्ग हुन सक्ने परिस्थितिका कारण निषेध आदेश जारी गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ (संशोधन सहित) को दफा ६ को उपदफा ३ (क) बमोजिम निषेधित क्षेत्रमा पाँच जना भन्दा बढी व्यक्ति भेला भई सभा, जुलुस, प्रदर्शन, घेराउ जस्ता कार्यक्रम गर्न निषेध गरिएको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
फुङलिङ नगरपालिका बजार क्षेत्रभित्र पर्ने पूर्व-फुङलिङ नगरपालिका वडा नम्बर-७ सल्लेरी, पश्चिम-फुङलिङ नगरपालिका वडा नम्बर-७ घोडेचौर (थलाङ धारा क्षेत्रसम्म), उत्तर-फुङलिङ नगरपालिका वडा नम्बर-४ उकालीपानी, दक्षिण-फुङलिङ नगरपालिका वडा नम्बर-६ शेर्पा टोल (भेटनरी कञ्चनजंघा टोल) मा निषेध आदेश जारी गरिएको छ ।
यस्तै काफ्लेपाटी-बल्लुडाँडा क्षेत्रमा पूर्व-पर्यटक प्रहरीको भवनको एक सय मिटर इलाका, पश्चिम-बल्लुडाँडा-डडेले इलाका, उत्तर-केबलकार बेस स्टेशन (पानीको मुहान इलाकाको एक सय मिटर पर र दक्षिण-नयाँ बसपार्क इलाकाको एक सय मिटर (जङ्गल इलाका समेत) मा निषेधाज्ञा जारी गरिएको छ ।
घोषित अवधिभर जारी आदेशको उल्लङ्घन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अवरोध गर्ने कुनै पनि व्यक्ति वा समूह उपर प्रचलित कानून बमोजिम कारबाही समेत गरिने जानकारी गराइएको छ ।
ताप्लेजुङमा नो केबलकार पक्षधर र प्रहरी बिच पटक-पटक झडप भइरहेको छ । पाथीभरा क्षेत्रको पदयात्रा सकेर फुङलिङ आएका आन्दोलनरत नो केवलकार पक्षले राँकोसहितको जुलुस निकालेर फागुन ९ गते राति प्रहरी र घरघर तर्फ आगोको लप्का फालिदिएपछि स्थिति असामान्य बनेको डीएसपी रवि रावलले बताउनु भयो । राँके जुलुस र प्रदर्शनपछि भएको झडपसँगै स्थिति तनावपूर्ण भएको हो । आन्दोलनरत पक्षले भने आन्दोलनकारी बसेको घर तथा होटल छापा मारेर कुटपिट गर्दै धरपकड तथा अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् ।

Taplejung Pressrealese 2025-02-22

अन्य

भिडियो