INSEC Online

📅 २०८३ जेष्ठ २२

प्रदेश नं. ३ अन्तर्गतका ६ जिल्लामा शान्तिपूर्ण रूपमा निर्वाचन सुरू (अपडेट-१ बजे)

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका लागि पहिलो चरण अन्तर्गत प्रदेश नम्बर ३ अन्तर्गतका रामेछाप, दोलखा, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र रसुवा गरी ६ जिल्लामा मङ्सिर १० गते बिहानबाट शान्तिपूर्ण रूपमा निर्वाचन सुरू भएको सूचना जिल्ला प्रतिनिधिहरूबाट प्राप्त भएको छ ।

जिल्ला प्रतिनिधिहरूबाट प्राप्त सूचना अनुसार दोलखा र धादिङ जिल्लामा लोकतान्त्रिक गठबन्धनहरूले केही मतदान केन्द्रहरू कब्जामा लिन र मतदाताहरूलाई अवरोध गरेको सूचना प्राप्त भएको छ भने धादिङ, नुवाकोट, दोलखा जिल्लाका केहि स्थानमा राखिएको बम नेपाली सेनाले डिस्पोज गरेका छन् ।

धादिङ जिल्ला प्रतिनिधि सिताराम अधिकारीका अनुसार खनीयावास गाउँपालिका-२ स्थित बेन्दी देवी मावि मतदान केन्द्रमा मङ्सिर १० गते बिहान लोकतान्त्रिक गठबन्धनले वाम गठबन्धनका कार्यकर्तामाथि अक्रमण गरी सो मतदान केन्द्र कब्जामा लिएको वाम गठबनधनको आरोप छ ।

लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरूले बाम गठबन्धनको कार्यकर्ताहरूलाई कुटपिट गर्दै मतदान केन्द्र कब्जामा लिएपछि मतदान सुरू हुन नसकेको स्थानीय मङगोल तामाङले बताए । आक्रमणमा परी सोही ठाउँका वाम गठबन्धनका कार्यकर्ता अभिषेक तामाङको हात भाँचिएको छ ।

सो ठाउँमा मतदान सुरू नभएपछि सशस्त्र प्रहरी टोली हेलिकप्टरबाट पठाउँदै गरेको प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले बताए ।

यसैबिच थाक्रे गाउँपालिका-३ मालुङमा आज बिहान फेला परेको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको बैरेनी स्थित ६ नं. बाहिनी अडाको नेपाली सेनाले बताएका छन् । त्यस्तै गजुरी गाउँपालिका वडा नम्बर ३ महेन्द्रदय मावि मतदानस्थाल नजिकै फेला परेको सकेट बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

दोलखा जिल्ला प्रतिनिधि उद्धव पोखरेलका अनुसार तामाकोशी गाउँपालिका-३ स्थित हेल्थपोष्ट भवन मतदान केन्द्रमा आउँदै गर्दा सोही ठाउँका ७७ वर्षीय रूद्रप्रसाद पोखरेललाई लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले गुलेलीले हानेको ढुङ्गाले लागेर घइते भएका छन् । घाइते उनको पिडुँलामा चोट लागेको छ ।

नुवाकोट जिल्ला प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार ककनी इलका प्रहरी कार्यालय नजिक पासाङ ल्याहमु राजमार्गमा राखिएको प्रेसर कुकर बम नेपाली सेनाको टोलीले मङ्सिर १० गते बिहान डिस्पोज गरेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत इश्वर विश्वकर्माले बताए । जिल्लामा शान्तिपूर्ण रूपमा मतदान भइरहेको उनले बताए ।

रामेछाप जिल्ला प्रतिनिधि नवराज पथिकका अनुसार रामेछाप जिल्लामा शान्तिपूर्ण रूपमा मतादन सुरू भएको छ । जिल्लाका ९० मतदानस्थलका १ सय ९१ ओटै मतदान केन्द्रमा बिहान ७ बजेदेखि नै मतदान सुरू भएको रामेछापका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

मध्यान्हसम्म २५ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले बताए । यहाँका मतदान केन्द्रहरूमा मतादाताको न्यून उपस्थिति देखिएको छ ।

रसुवा जिल्ला प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार प्रतिनिधि र प्रदेश सभा सदस्यका लागि बिहानैबाट निर्वाचन शान्तिपूर्ण रूपमा सञ्चालन भइरहेको छ । मध्यन्हसम्म २० प्रतिशत मत खसेको सहायक प्रमुख जिल्ला अधिकारी स्मिता पौडेलले बताइन् । जिल्लाका सबै मतदानस्थाल तथा केन्द्रहरूमा सुरक्षा व्यवस्था प्रभावकारी बनाइएकोले शान्तिपूर्ण रूपमा निर्वाचन भइरहेको उनले जानकारी दिइन् ।

सिन्धुपाल्चोक जिल्ला प्रतिनिधि नातीबावु धितालका अनुसार सबै मतदानस्थाल तथा मतदान केन्द्रहरूमा शान्तिपूर्ण रूपमा मतदान कार्य सुरू भएको छ ।

यसैबिच जुगल गाउँपालिका-६ स्थित वडा कार्यालयको मतदान केन्द्रमा वाम गठबन्धन र लोकतान्त्रिक गठबनधनका कार्यकर्ताबिच अशक्त मतदाताले गर्ने मतदानको विषयलाई लिएर विवाद हुँदा बिहान आधा घण्टा रोकिएको मतदान सुरक्षाकर्मीको पहलमा सुचारू भएको निर्वाचन पर्यवेक्षक भुपेन्द्र बहादुर पाख्रिनले जानकारी दिए ।

अन्य

भिडियो