INSEC Online

📅 २०८३ जेष्ठ २१

हत्या घटनाका आरोपित पति गिरफ्तार

शम्भुनाथ नगरपालिका-२ की २२ वर्षीया गायत्रीकुमारी साहको हत्या गरेको आरोपमा प्रहरीले उनका पति २६ वर्षीय सन्तोष साहलाई ०८१ फागुन १ गते गिरफ्तार गरेको छ ।

हत्या गरी फरार रहेका आरोपितलाई ५ वर्ष पछि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर मनिष श्रेष्ठले जानकारी दिनुभयो ।

सामाजिक परम्परा अनुसार गायत्री र सन्तोषको ०७६ जेठ २६ गते विवाह भएको थियो । विवाहको केही समय पछि नै झगडा पर्न थालेकोमा चैत ६ गते राती सन्तोषले गायत्रीमाथि कुटपिट गरेका थिए । प्रहरीका अनुसार मरणासन्न अवस्थामा पुगेपछि गायत्रीलाई पूर्व–पश्चिम राजमार्ग अन्तर्गत शम्भुनाथ नगरपालिका-२ को ट्राफिक चौकबाट करिव ४ सय मिटर पूर्व सडकको उत्तर किनारमा फालेर सन्तोष फरार भएका थिए ।
घाइते अवस्थामा फेला परेकी पीडितलाई स्थानीयले चैत ७ गते विहान करिव साढे ५ बजे उद्धार गरी रुपनी गाउँपालिकास्थित युनिक अस्पतालमा भर्ना गराएका थिए । उपचारकै क्रममा गायत्रीको चैत ७ गते मृत्यु भएको प्रहरीले जनाएको छ । शवको पोष्टमार्टम गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा चैत ८ गते भएको थियो ।

मृतकका बुबा आशाप्रसाद साहले जिल्ला प्रहरी कार्यालयमा चैत ८ गते उजुरी दिनुभएको थियो । घटना पछि ०७७ वैशाख १८ भवितव्य ज्यानमा उजुरी दर्ता भएकोमा प्रहरी अनुसन्धान पछि ०७९ पुस २४ गते कर्तव्य ज्यान मुद्दामा परिणत भएको थियो ।

प्रहरीले गिरफ्तार भएका आरोपितलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको इन्स्पेक्टर सुरेन्द्र नेपालीले बताउनु भयो ।

अन्य

भिडियो