INSEC Online

📅 २०८३ जेष्ठ २२

एमाले उम्मेदवार अधिकारीसँग आयोगले सोध्यो २४ घण्टे स्पष्टीकरण

निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्यका लागि नेकपा एमालेका कास्की निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार रविन्द्र अधिकारीसँग मङ्सिर ९ गते २४ घण्टे स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

आयोगले मङ्सिर १० गते हुने प्रथम चरणको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मौन अवधिमा उम्मेदवार रवीन्द्र अधिकारीले सामाजिक सञ्जाल ट्वीटरको प्रोफाइल पिक्चर वालमा निर्वाचन चिन्ह राखी प्रचारप्रसार गरेर निर्वाचन आचारसंहिता उल्लङ्घन गरेकाले स्पष्टीकरण सोधिएको आयोगका सहसचिव एवम् प्रवक्ता नवराज ढकालले बताए ।

प्रथम चरणको निर्वाचनको मौन अवधि मङ्सिर ७ गते राति १२ बजेदेखि सुरू भइसकेको छ । तर, उम्मेदवार अधिकारीले निर्वाचन आचारसंहिता उल्लङ्घन हुने गरी सामाजिक सञ्जाल ट्वीटरको प्रोफाइल पिक्चर वालमा आफ्नो र आफू सम्बद्ध पार्टीको निर्वाचन चिन्ह राखी प्रचारप्रसार गरेको सूचना आयोगमा प्राप्त भएपछि स्पष्टीकरण सोधिएको हो ।

‘निर्वाचन आचारसंहिता उल्लङ्घन गरेबापत कारबाही हुनु पर्ने हो/होइन पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको मिति ०७४ मङ्सिर ९ गतेको निर्णय अनुसार उम्मेदवार अधिकारसँग स्पष्टीकरण सोधिएको हो ।’ आयोगले जनाएको छ ।

अन्य

भिडियो