गजुरी गाउँपालिका-५ स्थित गजुरी पिडा मावि मतदान केन्द्र नजिकै राखिएको सकेट बम नेपाली सेनाले मङ्सिर ९ गते निष्कृय पारेको छ ।
मतदान केन्द्रबाट ३ सय मिटरको दुरीमा बाटोमा मङ्सिर ९ गते बिहान बम भेटिएपछि प्रहरी र सेनालाई खबर गरिएको थियो ।
नेत्रविक्रम चन्द बिप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले राखेको बम नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारेको जिल्ला प्रहरी कार्यालयका डिएसपी रामबहादुर केसीले जानकारी दिए । बम निष्कृय पारेपछि सो क्षेत्रमा सेना परिचालन गरिएको छ ।
यसैबिच सुरक्षाको प्रत्याभूति गरिएकोले मतदातालाई सुरक्षित रूपमा मतदान गर्न आउन प्रमुख जिल्ला अधिकारी श्याम भण्डारीले आग्रह गरेका छन् ।
जिल्लाभर शान्ति सुरक्षाको अवस्था मजबुद रहेकाले मतदाताको पर्खाइमा मतदान केन्द्रमा कर्मचारी रहेको भन्दै सञ्चारकर्मीसँगको भेटमा प्रमुख जिल्ला अधिकारी भण्डारीले यस्तो आग्रह गरेका हुन् ।
निर्वाचन आयोगकी सदस्य इला शर्माले मङ्सिर ९ गते धादिङको अनुगमन गर्दै निर्वाचन तयारी तथा सुरक्षा अवस्थाबारे जानकारी लिएकी छन् ।
निर्वाचन आयोगकी सदस्य शर्माले जिल्लाको सुरक्षा निकाय, मूख्य निर्वाचन अधिकृत, निर्वाचन अधिकृत लगायतसँग निर्वाचन तयारी र सुरक्षा अवस्था बारेमा छलफल गरेकी हुन् ।
जिल्लाको अवस्था विश्लेषण गर्दा यो पटकको निर्वाचन स्वच्छ, भयमुक्त वातावरणमा हुने विश्वास आफूले लिएको शर्माले बताइन् ।
मतदान केन्द्रहरूमा सञ्चारकर्मीहरूको पहुँच र समाचार सम्प्रेषणमा बाधा नपर्ने गरी व्यवस्थापन मिलाइएको मुख्य निवर्नाचन अधिकृत उमेश कोइरालाले जानकारी दिए ।