हलेसी तुवाचुङ नगरपालिका-१० अर्खौले ढाँडगाउँका १९ वर्षीय राम परियारले बलात्कार मुद्दाको आरोप पुष्टि नभइ प्रहरीले हत्कडी लगाएर सम्मानपूर्वक बाँच्न पाउने अधिकार खोसेको भन्दै आत्महत्या गरेका छन् ।
२६ वर्षीया महिलाले आरोपितले ०८१ वैशाख १० गते बलात्कार गरेको आरोपमा माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको घटनामा प्रहरीले सत्यतथ्य नबुझी निर्दोषलाई हत्कडी लगाएर समाजमा बेइज्जत गरेका कारण ०८१ माघ २५ गते आत्महत्या गर्न बाध्य भएको भन्दै राम परियाले झुण्डिएर आत्महत्या गरेका छन् ।
राम परियार(मृतक) को भन्दा तल्लो घरमा ०८१ माघ २४ बाबुछोराको झगडा भएको र सो झगडाका लागि प्रहरी चौकी अर्खौँले माघ २५ गते छलफलका लागि गाउँका मान्छे बोलाएका थिए ।
सोही क्रममा प्रहरीले भेला भएका मध्ये राम परियार को हुनुहुन्छ भनि सोधीखोजी गर्दा रामले किन ? भनेर प्रश्न गरेपछि भेला भएका मध्ये कसैले दिएको इसारामा प्रहरीले राम परियारलाई हत्कडी लगाएपछि घटना भएको वडा सदस्य किशोरकुमार श्रेष्ठको भनाइ छ ।
अरूले दिएको इसारामा रामलाई प्रहरीले तत्काल हत्कडी लगाएको र सबैले सोधीखोजी गर्दा, पक्राउ पूर्जी खोजी गरेपछि प्रहरीले हत्कडी फुकालेर लिखित जमानीमा रामका बाबुलाई छोरा जिल्ला लगाएको वडा सदस्य श्रेष्ठले बताउनु भयो ।
रामले प्रहरीले पुष्टि नभइ हत्कडी लगाएर बेइज्जत गरेको भन्दै प्रहरी चौकी अर्खौँलेका असइ पोषराज कार्कीसँग जवाफ मागेपछि भेला भएकाहरुले रामलाई सम्झाइ बुझाइ घर फर्काएको वडा सदस्य श्रेष्ठले बताउनु भयो ।
घटना भएको रात माघ २४ गते मध्यरातसम्म राम परिवारसँग भएको र माघ २५ गते विहान रामको शव झुण्डिएको अवस्थामा हलेसी तुवाचुङ नगरपालिका १० अर्खौँले ढाँडगाउँमा भीमसेनपातीको रुखमा झुण्डिएको अवस्थामा फेला परेको थियो ।
घटनास्थलमा फेला परेको सुसाइड नोटमा प्रहरी चौकी अर्खौँलेका असइ पोषराज कार्कीले आरोप पुष्टि नभइ हत्कडी लगाएर समाजमा बेइज्जत गरेको, सम्मानपूर्वक बाँच्न नदिएको कुरा उल्लेख छ ।
स्थानीयले असइ कार्कीविरुद्ध चर्को दबाव दिएपछि प्रहरीले कार्कीको असइको जिम्मेवारी खोसेको छ ।
घटनाका विषयमा थप अनुसन्धान थालिएको र असइको जिम्मेवारी खोसेर जिल्ला झिकाइ आन्तरिक रुपमा छानबिन थालिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।
शवको पोष्टमार्टम जिल्ला अस्पतालमा माघ २५ गते गरी सोही दिन पीडित पक्षले शव बुझी सद्गत गरेको छ ।