INSEC Online

📅 २०८३ जेष्ठ २१

उम्मेदवार पत्नीले पैसा बाँडेको आरोपमा उजुरी

नेपाली काङ्ग्रेसका उम्मेदवारले मतदातालाई प्रभावित पार्न पैसा बाँडेको भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मङ्सिर ८ गते आचारसंहिता उल्लङ्घनको उजुरी परेको छ ।

पाल्पा क्षेत्र नं. २ अन्तर्गत वगनासकाली गाउँपालिकाको खानीगाउँ र बराङ्दीमा काङ्ग्रेस उम्मेदवारहरू पत्नीहरूले प्रति व्यक्ति २/२ सय रुपियाँ बाँडेर निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गरेको भन्दै उजुरी परेको हो ।

नेकपा एमालेका जिल्ला उपसचिव खिमानन्द पाण्डेयले गैरसरकारी संस्थाको व्यानरमुनी काङ्ग्रेसलाई मत मागेको र सहभागीहरूलाई पैसा बाँडेको तस्वीरसहित उजुरी दर्ता गराएको बताए ।

पाण्डेयले उजुरी गरे लगत्तै मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेपाली काङ्ग्रेस पाल्पालाई त्यस्ता निर्वाचन आचारसंहिता विपरीतका गतिविधि रोक्न निर्देशन गरेको छ ।

निर्वाचन आचारसंहिता अनुगमन अधिकृत राजेन्द्रप्रसाद न्यौपानेले काङ्ग्रेस पार्टीलाई लेखेको चिठ्ठीमा उजुरी बमोजिमका गतिविधि तत्काल रोक्न निर्देशानुसार अनुरोध गर्दछु उल्लेख गरिएको छ ।

‘वगनासकाली गाउँपालिका-७ खानीगाउँ महिला भवनमा यसरी नै काङ्ग्रेसलाई भोट दिन सिकाउँदै प्रति व्यक्ति २ सय रुपियाँ बाँडेकाले उक्त एनजिओको स्रोत के हो ? एउटा पार्टीलाई भोट माग्ने एनजिओको काम कसरी भयो ? नेपाली काँग्रेसका प्रत्यक्षतर्फका उमेदवार हरिप्रसाद नेपालकै पत्नी सीता नेपाल, प्रदेश सभाका उम्मेदवार माधव नेपाल र उनकी पत्नी माया नेपाल स्वयम् आफैँ सहभागी भएर निर्वाचन आचारसंहिताको ठाडो उल्लङ्घन गरेकाले निर्वाचन ऐन विपरीत कार्य गर्नेलाई तत्काल कारबाही गरी स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बनाउन यो निवेदन पेश गरेको छु ।’-उक्त उजुरीमा उल्लेख छ ।

अन्य

भिडियो